बंगलादेशमा डुंगा दुर्घटना,२६ जनाको मृत्यु

लेखाजोखा न्युज
२३ चैत्र २०७७, सोमबार १८:४८

ढाका । बंगलादेशमा डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । एउटा सानो डुंगालाई ठूलो पानी जहाजले ठक्कर दिँदा दुर्घटना भएको हो ।

५० यात्रु बोकेको डुंगा राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्जस्थित शितालक्ष्य नदीमा आइतबार मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुबेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आइतबार नारायणगञ्ज जिल्लाबाट छुटेको केही समयमा नै उक्त फेरी दुर्घटनामा परेको नारायणगञ्जका जिल्ला प्रशासक मुस्टेन बिल्लाहले बताए । केही मानिसहरु भने पौडिएर नदीबाट बाहिर निस्किन सफल भएका थिए ।

आइतबार राति ठूलो आँधी आउँदा दुर्घटनामा परेकाहरुको उद्धार कार्य समेत प्रभावित भएको थियो । सोमबारदेखि कोरोना संक्रमण नियन्त्रणको लागि बंगलादेशको सरकारले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । त्यसैले आइतबार धेरै मानिसहरु सहर छाडेर आफ्नो घर फर्किँदै थिए ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म २५ जनाको शव फेला परेको छ । ९ अझै पनि बेपत्ता भएको बताइएको छ ।अहिले पनि बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ।