मनकामना केबलकार चैत २५ बाट बन्द हुने

लेखाजोखा न्युज
२३ चैत्र २०७७, सोमबार १७:४७

चितवन । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको मनकामना केबलकारको सेवा मर्मतसम्भारका लागि झण्डै हप्ता दिन बन्द हुने भएको छ । चितवनको कुरिनघाटस्थित केबलकार सेवा आगामी चैत २५ गतेदेखि ३० गतेसम्म बन्द हुने भएको हो ।

केबलकारको स्तरोन्नती गर्न बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । पहिलो चरण मध्येको काम अनुसार बुल ह्लिल बियरिङ नयाँ फेर्नुका साथै अन्य मर्मत संभारका लागि केबलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

मर्मत तथा स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएकाले केबलकारको सेवा बन्द गर्नु परेको बताइएको छ । उक्त अविधमा केबलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्टको सेवा भने यथावत सञ्चालनमा रहने जारी विज्ञप्मिा जनाइएको छ ।

मर्मत संभारपछि आगामी चैत ३१ गतेदेखि नियमित रुपमै केबलकारको सेवा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।