भारतमा सेप्टेम्बरपछिकै सबैभन्दा बढी कोरोना संक्रमित फेला पछिल्लो २४ घण्टामा ८९ हजार संक्रमित फेला, मृत्यु हुनेको संख्या पाँच महिनायताकै उच्च

लेखाजोखा न्युज
२१ चैत्र २०७७, शनिबार १२:५०

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा सेप्टेम्बरपछिकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार १२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि पाँच महिनायताकै उच्च रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१४ जनाको मृत्यु भएको छ ।

पछिल्लो तीन साता यता भारतका विभिन्‍न सहरमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ । भारतमा सबैभन्दा बढी महाराष्ट्र, त्यसपछि क्रमश: पञ्‍जाब, कर्नाटक, केरला, छत्तिसगढ, चण्डीगण, गुजरात, मध्यप्रदेश, तमिलनाडु, दिल्ली र हरियाणामा कोरोना भाइरसको संक्रमण रहेको छ ।

भारतमा हालसम्म ६ लाख ५८ हजार ९०९ जना सक्रिय संक्रमित रहेका छन् । यो कूल संक्रमितको ५.३२ प्रतिशत हो ।

कोरोना भाइरसको खोप लगाउन सुरु गरिए पनि कोरोना भाइरसको संक्रमणको नयाँ लहर सुरु भएको हो । भारतका विभिन्‍न सहरहरुमा लकडाउन र कर्फ्यु जारी गरिएका छन् भने केही सहरहरुमा प्रतिबन्धात्मक नियमहरु लागु गरिएका छन् ।