पहाड र प्रेम : ६

दामोदर पुडासैनी ‘किशोर’
२१ चैत्र २०७७, शनिबार ०८:१३

अमूर्त चित्रमाझमा
विस्तारै अनुहार बदल्न खोज्दै छ
सूर्यमुखी पहाड

किन निहुरेर समथर हुन खोजोस् पहाड
किन बगेर समुद्र हुन खोजोस् पहाड
बुझ्नेलाई त
समथर पनि छ सम्म पनि छ पहाड
जोसुकै आँटीलाई
आफ्नो आङमा उभ्याएर
चुप्प चुप्प म्वाइँ खान खप्पिस छ पहाड

कहाँ सधैँ बाँधिइरहन सक्छ र पहाड
पाउजु, पोते र खगालोहरूमा
कहाँ बसिरहन सक्छ र पहाड
मैलका लाप्साहरूमा

नुहाइधुवाइ गरेर
आफ्नै उज्यालोमा उभिएको बेला
स्‍नानागारबाट निस्किएकी षोडषीभन्दा
कति हो कति सुन्दरी उभिन्छे पहाड

क्षणक्षणमा स्पर्श खोज्छ पहाड
क्षणक्षणमा आभास खोज्छ पहाड
तिम्रो र मेरो प्रेम
पहाडमा रोप्ने हो भने
प्रेमनै प्रेमको पञ्‍चमुखी बन्छ पहाड ।

सिमकोट, हुम्ला
२०६५ भदौ १९ ।