सहकारीको जननी बखान सहकारी सरकारको उपेक्षामा

बलराम पाण्डेय
२० चैत्र २०७७, शुक्रबार १३:२५

चितवन । ‘राजनीतिक मार खेप्यो, आर्थिक चपेटामा धकेलियो, न राजनीतिक मारको क्षतिपूर्ति पायौं न आर्थिक चपेटाबाट पार लगायो कसैले,’ चितवनको बखान बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भक्तबहादुर गुरुङले भने, “हरेक सहकारी कार्यक्रममा गाउँ होस् वा केन्द्र बखानको बखान गरेर थाक्दैनन् सहकारीकर्मी । तर, बखानको संरक्षण, सम्वर्द्धन र विकासमा कसैको ध्यान छैन् ।”

नेपालको सहकारी विकासमा ऐतिहासिक महत्त्व राख्‍ने सहकारी आफ्नो अस्तित्व संरक्षणमा बसेको छ । चितवनको भरतपुर महानगरपालिका-१९ को बखान सहकारीको उत्पत्तिको मिति आज सहकारी दिवसका रुपमा विकास भयो । उसकै अस्तित्व संरक्षणमा कठिनाइको अवस्था छ । सहकारी प्रविधिमैत्री हुँदै कागजरहित प्रक्रियामा पुग्दा सहकारीको जननी बखान भने संरक्षण र सम्वर्द्धनको खोजीमा छ । सरकारको अर्थतन्त्रको मेरुदण्ड सहकारीको जननी मानिएको बखान सहकारी नै सरकारी उपेक्षामा परेको छ ।

राजा महेन्द्रले बहुदलीय शासन व्यवस्थाको घाटी निमोठ्दा बखान सहकारीको पनि घाटी निमोठेर अस्तित्व नै धराप पार्ने गरी आगजनी गरिदिएको कोषाध्यक्ष गुरुङले बताए । पञ्चायतकालमा साझाको अवधारणा अनुसार ऋणमा कृषि विउ, कृषि औजारहरु वितरणमा लागेको सहकारी वित्तीय विचलनको समस्यामा परेको थियो । कृषि सामग्री संस्थानले दिने सस्तो व्याजदरको कृषि सामग्री कृषकलाई बढी ब्याजमा उपलब्ध गराउने माध्यम बनेको बखानमा भ्रष्टाचार मौलाएको थियो । कृषि संस्थानबाट किर्ते कागजबाट ७० लाखभन्दा बढी ऋणको व्ययभार शेयरसदस्यले तिरेको उनले बताए ।

२०४८ को सहकारी ऐन साझाको अवधारणालाई बन्द गरेपछि वखानका शेयरसदस्यले ऋण भार व्याहोरे । उनीहरुले झण्डै १० बर्षमा ऋण चुक्ता गरेपछि बल्ल बामे सर्न थालेको सहकारीका पुर्व व्यवस्थापक नारायण महतनेले बताए । विशुद्ध सेवामा तल्लीन बखानले न त प्रविधि चिनेको छ न कसैले चिनाउने प्रयास गरेको छ ।

सहकारी सञ्चालनमा विभित्र कठिनाइका बाबजुद ६४ वसन्त पार गरेको ऐतिहासिक महत्त्वको बखान सहकारी अझ बामे सरेकोझैँ पाइन्छ । सहकारीका अध्यक्ष रेशमराज गुरुङले सहकारीसम्बन्धी यथेष्ट ज्ञान नपाउँदा पछाडि परेको बताए । “सहकारीको ज्ञान शेयर सदस्यलाई दिन सके बखानले फड्को मार्छ कि,” अध्यक्ष गुरुङले गुनासो गर्दै भने, “हामी स्थानीय समस्यामा केन्द्रित छौ ।”

“सरकारले संरक्षण सम्वर्द्धनमा कुनै चासो राख्दैन, दिवस मनाउँदासमेत सम्झदैन,” उनले भने । वार्षिक सय भन्दा बढी सहकारी र १० भन्दा बढी विद्यालय अनि क्याम्पसका विद्यार्थी भ्रमणमा पुगे पनि उनीहरूको लागि आवासको समस्या छ । सस्तोमा खाना र बस्ने व्यवस्था मिलाउन पाए सहकारी पर्यटनको विकास गर्न सकिने उनले बताए ।

भर्खर खुलेका सहकारी प्रविधिमैत्री भइ सेवाग्राहीलाई सरल सेवासुविधा दिइरहँदा बखान भने स्थानीयलाई बीउविजन बिक्रीमै सीमित छ । सात सयभन्दा बढी शेयरसदस्य भएको सहकारी ६० जनाबाट स्थापित भएको थियो ।

बखानलाई सहकारीकर्मीको तिर्थका रुपमा विकास गर्नुपर्ने फेन्सी बचत तथा ऋण सहकारीका अध्यक्ष मेघराज कँडेलले बताए । उनका अनुसार सरकारको चासो भने देखिँदैन । ६४ औ सहकारी दिवसमा भरतपुर महानगरपालिकाले नारायणगढ बजार सरसफाइमा टुंग्यायो तर, बखान सम्झेन ।

महानगरपालिकाका सहकारी तथा रोजगारी प्रबर्द्धन शाखाका रामबाबु पौडेलले संघीय सरकारको राष्ट्रिय सहकारी संग्रहालय बन्‍न लागेको बताए । बखानलाई चितवन आन्तरिक पर्यटक भित्र्याउने माध्यम बनाउन सक्ने भरतपुरको लोककल्याणकारी सहकारीका सदस्य बसन्त न्यौपानेले बताए । उनले सरकारले त्यहीँ किसिमको योजना बनाउन सुझाव पनि दिए ।