२२ मंसिर २०८०, शुक्रबार

परशुरामजी लाई राष्ट्रिय रूपमा बुझ्न आवश्यक

कैलासकुमार पाण्डेय

९ बैशाख २०८०, शनिबार २:२८

डडेल्धुरा । वैदिक सनातन धर्ममा भगवानका अवतारको निकै महत्वका साथ लिइएको पाइन्छ।अवतारको प्रसंग हेर्दा देवताहरु स्वर्गमा रहने स्वर्ग माथी आकाशमा रहेको र आकाशबाट अवतरण हुने प्रक्रियालाई बुझिन्छ ।अवतार निश्चित प्रयोजनका लागि भएको पाइन्छ। अवतार लिएको स्थान तीर्थका रुपमा स्थापित हुन्छन।

आज अयोध्याको चर्चा छ राम जन्मेका कारणले।त्यसै गरि गोकुलको चर्चा छ कृष्ण जन्मेका कारणले, ,लुम्बिनीको बिश्वभर चिनिएको छ बुद्ध जन्मेका कारण ले। महापुरुष को जन्मले आस्थाको केन्द्र भएका छन।जहाँ भगवान बिष्णुका सातौ आठौं नवौ अवतार भएका थिए । डडेल्धुराको परशुराम क्षेत्र जहाँ बिष्णुको छैटौं अवतार भएको हो।

परशुरामजी लेआफ्नो बन्चरोले एउटा ढुङ्गामा तीन हात लम्बाई तीन हात चौडाइ तीन हात गहिराइको कुण्ड निर्माण गरेको स्थान तथा चिरञ्जीवीको वरदान प्राप्त गरेको स्थान डडेल्धुरा जिल्लाको परशुराम क्षेत्रमा रहेको छ।त्यस सम्बन्धि तथ्य विभिन्न पुराणमा उल्लेख गरेको पाइन्छ।पौराणिक आदर्श पात्रहरू राष्ट्रिय बिभुती बनाइएका छन ।स्वभाबिक कै पनि मानिन्छ राजर्षी जनक,माता सीता राष्ट्रिय विभुती बनाइएको मा।त्यसै गरि परशुरामजी लाई पनि त्यही नजरले हेर्नु पर्थ्यो,राष्ट्रिय रुपमै बुझ्नु पर्थ्यो त्यो हुन सकेको छैन।अझै पनि राष्ट्रले सम्झनु जरुरी छ।

परशुरामतीर्थ वैदिक सनातन धर्मावलम्बी सबैको आस्थाको केन्द्र हो । त्यसैमा हाम्रा लागि गौरव र राष्ट्रिय महत्वको पनि हो।तीर्थ सबै ठाउँमा हुदैनन ,आध्यात्मिक महत्व बोकेका स्थान निकै दुर्लभ नै हुन्छ।तीर्थ बन्नका लागि समुद्र,नदि,नदिका संगम,त्रिबेणी,वन, महापुरुषका जन्म स्थल,महापुरुषहरुले लिला गरेका ठाउँ तीर्थ कहालिन्छ।महापुरुषको जन्म सबै समय सबै ठाउमा हुदैन। महापुरुषको जन्मले पनि स्थानको पहिचान गराएको हुन्छ । भगवान बिष्णुको छैटौं अवतार धारण गरेका अष्ट चिरञ्जीवी मध्ये का एक चिरञ्जीवी परशुरामजी को जन्म भएको स्थान हो परशुरामक्षेत्र ।

हालको जोगबुढा बूढो जोगी शब्दबाट बनेको हुन सक्छ। जोगबुढा जमदग्निको आश्रम रहेको स्थान पनि हो । बुढोजोगी ऋषि जमदग्नि नै हुन।यहि रेणुका माता निरन्तर प्रवाहित छन।देवस्थान बनाएर पुजनिय पनि छन।माता रेणुका र पिता जमदग्निको निवास नै परशुराम को जन्म स्थान हो।जहाँ मातापिताको निवास छ ,जहाँ बालकृडा गरेको छ त्यही जन्म स्थान हो भन्नमा अतिउक्ती मानिदैन । जमदग्नि आश्रम र रेणुका माता रहेकै ठाउमा चक्रतीर्थ रहेको पुराणमा उल्लेख छ।जुन चक्रतीर्थमा स्नान गर्नाले सबै पाप बाट मुक्त भइन्छ भनिएको छ।

त्यसै चक्रतीर्थमा बालक परशुरामजी ले स्नान गर्दा महावलशाली भएका र त्यसै नजिक परशुराम तीर्थ रहेको पुराणमा लेखिएको तथ्य बाट पनि परशुरामजी को जन्म स्थानको पुष्टि हुन जान्छ।स्कन्द पुराणको मानसखण्डमा एला र श्यामाको संगममा परशुरामतीर्थ रहेको स्पष्ट वर्णन छ।महाकालको रोष कारण जडा बाट उत्पन्न भएकी मन्दाकिनी नदि महाकाली र कूर्म पर्वतको एलाताल बाट प्रवाहित एला नदिको संगममा तीनलोकमा चर्चामा रहेको परशुरामतीर्थ रहेको पुराणमा निकै ठुलो वर्णन पाइन्छ ।परशुरामतीर्थ मा परशुरामजीले शिवजीको कठोर तपस्या गरि परशु, धनुष लगायतका दिब्य आयुध प्राप्त गरेका थिए।

यहि परशुरामजी ले चिरञ्जीवीको बरदान समेत पाएका थिए । यस तीर्थको महत्वको वर्णन हुदा चिरञ्जीवीको बरदान प्राप्त गरेको स्थान भनिएको पाइन्छ।यसै स्थानमा पृथ्वीका आतताई क्षेत्रीय बिहिन पारे पछि आफ्नो बन्चरोले एउटा ढुङ्गामा तीन हात लम्बाई तीन हात चौडाइ तीन हात गहिराइको कुण्ड निर्माण गरेका थिए । त्यसै कुण्डमा बिश्वकर्माले दशाङ्गुल परिमितको परशुरामजीको प्रतिमा स्थापित गर्नु भएको थियो । उक्त परशुराम कुण्ड रहेको परशुरामतीर्थको महत्व पनि व्यापक छ । गङ्गा स्नानको भन्दा दशगुणा बढी पुण्य परशुरामतीर्थ नजिक महाकाली नदिमा स्नानले पाइन्छ भनेर पनि पुराणले नै बर्णन गरेको छ। मानसखण्डमा रहेका तीर्थ मध्ये पहिलो तीर्थ परशुरामतीर्थ मानिन्छ।जहाँ स्वयं सृष्टिकर्ता ब्रह्माजी ले पिपल र वट उत्पत्ति गरेका थिए।अद्यपी पनि सत्ययुगी वर पिपल हेर्न सकिन्छ।

परशुरामजीले अष्टाङ्ग योग मार्फत शिवजीको साधना गरि दिब्य आयुध र चिरञ्जीवीको बरदान प्राप्त गरेको ब्रह्माण्ड पुराणमा उल्लेख गरिएको छ। जब जब धर्मको क्षती भएर असत्य,अत्याचार बढदछ त्यतिबेला धर्म रक्षा का लागि अवतार लिएको पाइन्छ।त्रेतायुगमा आतताई हैहय बंशीय क्षेत्रीहरुले ऋषि जमदग्निको आश्रमबाट कामधेनु हरण गरे पछि क्षेत्रीय बिनासको संकल्प लिएको विभिन्न पुराणहरुमा उल्लेख पाइन्छ।परशुराम तीर्थमा नै आफुले जितेको सारा पृथ्वी कस्यप ऋषिलाई दान दिएका थिए। परशुरामतीर्थमा नै देवब्रत,द्रोणाचार्य, कर्णलाई धनुर्बिद्या सिकाएका थिए।

यति महत्व बोकेको तीर्थ हामी संग छ।जसको नाम तीनलोकमा चिरञ्जीवी रहेको त्यस्ता महापुरुषलाई सनातन धर्मका आस्थावानले चिन्नु जान्नु नै पर्ने हुन्छ ।त्यसमा पनि राज्यले बुझिदिनु पर्‍यो।परशुरामतीर्थलाई सांस्कृतिक पर्यटकीय महत्वको क्षेत्र संघीय सरकारले घोषणा गरि सो अनुरुपका संरचना बनाउनु जरुरी छ। सनातन मन्यताका भगवान तथा चिरञ्जीवी परशुरामजीको जन्म हाम्रै सिमाभित्र भएको हो भनी सरकारले बुझिदिनु पर्‍यो।थप अनुसन्धान गर्न आवश्यक भए अनुसन्धान नै गरे हुन्छ । यतिको महत्व लाई गहिरिएर गम्भीरता पुर्वक जान्न जरुरी छ ।

परशुराम तीर्थका बिषयमा सरकार बेखवर छ।गोकुल,अयोध्या, लुम्बिनी भन्दा बढी चर्चा हुनु पर्थ्यो। परशुराम नगर पालिका घोषणा भएको छ । नगर पालिकाले सांस्कृतिक पर्यटकीय क्षेत्र घोषणा गरेको छ।नगर पालिका आफ्नो तहबाट लागि परेको छ तर हाम्रा प्रबुद्ध बौद्धिक ब्यक्तित्व हरुका लेखाइ बोलाई परशुरामतीर्थ समेटिनु पर्थ्यो ।राज्यले गम्भीरता पुर्वक सोचिदिनु पर्थ्यो त्यो हुन सकेको छैन ।
पुराणले धेरै कम स्थानको चर्चा गरेको हुन्छ।हजारौं बर्ष अधि पनि चर्चामा रहेका र कुनै न कुनै महत्व बोकेका स्थानको मात्र त्यहा उल्लेख हुन्छ।पौराणिक तथ्यको स्वभावतः महत्व नै हुन्छ ।पुराणहरुमा वर्णन गरिएका स्थान मध्येको महत्वपुर्ण स्थान परशुराम क्षेत्र पनि हो।

परशुराम भगवान ,परशुरामजीको जन्म स्थान, चिरञ्जीवीको बरदान पाएको स्थान,कुण्ड निर्माण गरेको स्थानका बिषयमा सरोकार वालाको ध्यान जानू जरुरी छ।परशुराम क्षेत्र र परशुरामजी का बिषयमा गहिरिएर बुझिदिनु पर्ने छ ।सम्बन्धित सबैको जानकारी का लागि बिशेष अनुरोध पनि छ।धार्मिक ,सांस्कृतिक महत्व बोकेका स्थानको कसै न कसैले उठान गर्नु पर्ने नै हुन्थ्यो।सम्बद्ध पक्षमा जानकारी गराउनु जरुरी हुन्थ्यो।अक्षय तृतीयाको पुनित अवसरमा ,परशुरामजीको जन्मोत्सवको मेसो मिलाएर जानकारी गराइदैछ।सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ।सबैलाई चेतना भया

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend