तिमीले उपहार दिएको रंगमा

दामोदर पुडासैनी ‘किशोर’
१५ चैत्र २०७७, आईतवार ०९:१२

तिम्रो मुस्कानमा इन्द्रेणी छ
त्यो बहुरंगी माला बनेर सजिइरहेछ मेरो मुटुमा

तिमीसँगको रंगले नै हो
मलाई, तिमी वरिपरि घुमिरहने बनाएको

तिमी बादलको रंगमा
हलचल ल्याउँदै
मेरो मनभित्र पस्यौ
बर्सियौ आठौँ रंगमा
र जम्यौ ज्योति रंग घाम बनेर

म धूलो बनेँ
धूलो
रातो, नीलो, पहेँलो, सेतो, बैजनी र अरू धेरै रंगमा थियो
धूलोका हरेक कणमा सबै रंगहरू ब्युँझिरहेथे
धूलोमा रंगहरू चल्मलाउँन थालेपछि हो
तिम्रो र मेरो बीचमाअग्लिन थालेको
आकर्षणको एउटा बहुरँगी हिमाल

तिम्रो आवाजको त के बयान गरूँ
त्यो त सधैँ टिलपिल टिलपिल छ
रँग भरिएको तलाउ जस्तो
तिम्रो आवाज सुन्छु र मातिन्छु म
तिम्रो आवाज सँझदा
बज्न थाल्छ मनमा
सुरिलो स्वरमा गीत गाउँदै
कावा खाइरहेको
चराको सुनौलो प्वाखको आवाज

मैले तिम्रा कयौँ कुरा बुझ्न सकिनँ
मैले तिमीलाई कयौ कुरा बुझाउन सकिनँ
आऊ केही रंग साटासाट गरौँ
रँग बुझियो भने
बुझ्न केही बाँकी रहनेछैन

तिमीले उपहार दिएको रंगमा
रंगमात्र रहेनछ
अनौठो संगीत, जादूइ सुस्केरा, प्रेमिल आकृति
र, एउटा गहिरो विश्वास जमजमाइरहेछ
तिमीले उपहार दिएको रंगमा
किन संसार हल्लाउने तरँग हुन्छ ?

म संसारकै नौलो रँग मुटुमा उमार्न चाहन्छु
मलाई थाहा छ
त्यो तिम्रो मन्द मुस्कानमा छ ।

गङ्‌गबु, नयाँ बसपार्क

२०७७ चैत १५ गते, होली पर्व ।