पहाड र प्रेम : ५

दामोदर पुडासैनी ‘किशोर’
१४ चैत्र २०७७, शनिबार १२:३६

पहिलो भेटमै
उसले मलाई खुसुक्क सोधी–
के ल्यायौ त सहरबाट ?

सहरमा
पालिसदार मन थियो
जालिदार पहिरन थियो
आँखामा हेराइ थियो, चमक थिएन
थकित बटुवाको जमात थियो सहर

मैले भनेँ –
ल्याउन योग्य केही थिएन
त्यसैले ल्याइनँ केही पनि

मलिन अनुहारमा हेरिरही उसले
शिरदेखि पाउसम्मका मेरा अवयवहरू

उसले
माथितिर चौबन्दी
तल सुरुवाल पहिरिन थालेकी छे
हिउँ र जूनले सेकिएका कोमल ओठहरूमा
लिपिस्टिक पोत्न थालेकी छे
कतुवामा मायाको ऊन कात्छे
तर, मायालु रेखाहरूबाट भने
खुस्कँदै खस्न थालेकी छे

ताक्लाकोटले कयौँ चोटि ठगे पनि
उसलाई मतलब छैन
नेपालगन्जले कयौँ पटक झुलाए पनि
उसले बुझेकी छैन
छिमेकीलाई जडीबुटी सुम्पेर
लत बढाएकी छे रक्सीमा पौडने

ऊसँग तालतलैया छैन
खोलामा ऊ पौडिन जान्दिन
जिन्दगीमा पौडनुको मजा बेग्लै ठान्छे ऊ
त्यसैले घरीघरी पौडन्छे
रक्सीका पहाडहरूमा

आफ्नै बारीका पाटाहरूमा फल्ने
चिनो र कागुनुभन्दा
चिलगाडी चढेको चामल नै
मीठो छ उसलाई
आफ्नै पहरामा फलेका स्याउभन्दा
आयातीत सर्बत नै स्वादिलो छ उसलाई

बिनाभरि मगमगाइरहेछ कस्तुरी
सुवास खोज्न भौँतारिरहिछे ऊ
सहरका गल्ली र गल्छेडाहरूमा
वा, विषकुण्डले भरिएका
सहरिया मनहरूमा

फूलको थुँगालाई
कसरी तीतेपातीले अपमान गरूँ म
सहरबाट तिमीलाई ल्याउन
एकमुठी मनबाहेक
मसँग अरू केही बाँकी रहेन ।

सिमकोट, हुम्ला
२०६५ भदौ १९ ।