भागरथी हत्याका अभियुक्त दिनेश भट्टको डीएनए रिपोर्ट ‘म्याच’

लेखाजोखा न्युज
१२ चैत्र २०७७, बिहीबार १३:२८

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १८ वर्षीया भागरथी भट्टको हत्यामा संलग्‍न भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट नै हत्या तथा बलात्कारमा संलग्‍न भएको थप प्रमाण फेला परेको छ ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाएको भागरथीको भेजाइनल स्वाब र डीएनए रिपोर्ट दिनेश भट्टसँग म्याच गरेको हो ।

“घट्नास्थलमा फेला परेका रगत, भागरथीको शरीरको रगत, भेजाइनल स्वाब र डीएनए रिपोर्ट दिनेश भट्टसँग म्याच गरेको छ,” सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले भने, “अहिलेसम्म गरिएका सबै अनुसन्धान र फेला परेका प्रमाणबाट दिनेश भट्ट नै हत्या तथा बलात्कारमा संलग्न भएको पुष्टि भएको छ ।”

प्रहरीले दिनेशले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि थप कारबाहीका लागि सुधार गृहमा पठाएको थियो । तर केहीदिनअघि उनले आफू भागरथीको बलात्कार र हत्यामा संलग्‍न नभएको बताएका थिए । उनले हत्यामा संलग्‍न भएको व्यक्तिलाई आफूले चिन्‍नेसमेत बताएका थिए ।