काठमाडौं । नेकपा एमालेले उपनिर्वाचन हुने चितवन २ र तनहुँ १ का लागि उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सो क्षेत्रमा अन्य पार्टीका प्रभावशाली नेतालाई प्रवेश गराएर टिकट दिने प्रयास भइरहेकाले एमालेले उम्मेदवार टुंगो लगाएको हो ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।
यस्तै, बारा २ मा आइतबार मात्र टुंगो लाग्ने एमालेले जनाएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ । तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिबार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए ।