२६ जेष्ठ २०८०, शुक्रबार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

लेखाजोखा न्यूज

१८ चैत्र २०७९, शनिबार ६:५२

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ। सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि ट्रम्पले आफूसँग सन्दिग्ध सम्बन्ध रहेकी पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई मौन राख्न पैसा दिएको दाबी अभियोगपत्रमा गरिएको बिबिसीले जनाएको छ।

ट्रम्प अमेरिकी इतिहासमा फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्वराष्ट्रपति बनेका छन्। पूर्वराष्ट्रपति ट्रम्पले आफूसँगको सम्बन्धबारे मौन बस्न ड्यान्यल्सलाई आफ्ना वकिल माइकल कोहेनमार्फत १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग छ।

यस विषयमा अनुसन्धानपछि अदालतको एक ग्रयान्ड जुरीले ट्रम्पविरुद्ध मुद्दा चलाउने पक्षमा मतदान गरेको थियो। ड्यान्यल्सले पनि पूर्वराष्ट्रपति ट्रम्पसँग आफ्नो ‘व्यभिचारपूर्ण सम्बन्ध’ दाबी गर्दै आफूलाई मौन रहन भन्दै पैसा दिएको स्विकारेकी छिन्। अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिको चुनावमा ट्रम्पले उम्मेदवारी दिने तयारी गरिरहेका बेला उनीविरुद्ध फौजजारी मुद्दा चलाइएको हो।

७६ वर्षीय ट्रम्पले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताएका छन्। आफूविरुद्ध लगाइएको अभियोगलाई उनले ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ को संज्ञा दिएका छन्। ट्रम्पका छोरा एरिकले ‘चुनावी वर्षको पूर्वसन्ध्यामा विपक्षीलाई निसाना’ बनाइएको प्रतिक्रिया दिएका छन्। हाल फ्लोरिडामा रहेका पूर्वराष्ट्रपति ट्रम्प सोमबार न्युयोर्क जाने र मंगलबार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend