काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताए ।
मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ । ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै कन्द्रित हुनुपर्छ ।”
मन्त्री गुरुङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
को हुन् मन्त्री गुरुङ ?
सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।
मन्त्री गुरुङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी भएकी थिइन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी गुरुङ तत्कालीन संविधानसभा सदस्य पनि थिइन् ।
गुरुङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भएर महिला सशक्तीकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित भएकी नेता हुन् । साहित्यमा रुचि राख्ने गुरुङ विभिन्न आन्दोलनमा सक्रिय थिइन् ।
कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरुङ नेपाल महिला सङ्घको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बनेकी थिइन् ।