२६ जेष्ठ २०८०, शुक्रबार

पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट

लेखाजोखा न्यूज

१७ चैत्र २०७९, शुक्रबार ९:२७

काठमाडौं। आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । त्यसका लागि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका हुन ।

अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यसका लागि वैशाखअगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए ।

यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो । त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो । सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend