काठमाडाैं । शुक्रबारदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।
एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।
यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । श्रेष्ठका अनुसार दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी हुँदै छन् ।
परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।’
पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् ।
सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ ।
अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।