२६ जेष्ठ २०८०, शुक्रबार

लगानी डुब्ने त्रासमा सिन्धुज्वालाका सेयरधनी

लेखाजोखा न्यूज

१५ चैत्र २०७९, बुधबार ७:५४

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनीलाई पाँच वर्षभित्र आयोजना सम्पन्न हुने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएको भए पनि हालसम्म निर्माण कार्य सुरु गरेको छैन ।

६ वर्षअघि संस्थापक सेयर उठाएको सो कम्पनीले अपर न्यासेमखोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट रन अफ द रिभर प्रकृतिमा बनाउन १ हजार ८ सयभन्दा बढी व्यक्तिसँग करोडौं रुपैयाँ उठाएको थियो । त्यसबेला कम्पनीमा आबद्ध चर्चित व्यक्तिको अनुहार देखाएर सो कम्पनीले करोडौं रुपैयाँ उठाउन सफल भएको थियो ।

तर, सर्वसाधारणसँग उठाइएको सो रकम आयोजना निर्माणको साटो हिनामिना गरिएको स्रोतको दाबी छ । यसका साथै वर्षौं बित्दा पनि काम सुरु नभएपछि लगानी गरेकाहरू लगानी फस्ने डरले चिन्तित छन् ।

सो कम्पनीले बनाउने भनेको आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित छ । ४३ मेगावाट क्षमताको यो आयोजनाको वार्षिक लागत अनुमान ६ अर्ब ६ करोड रुपैयाँ छ ।

त्यस्तै, सोही खोलामा बन्ने भनेको अर्काे आयोजना न्यासेमखोला ‘ए’ हो । यो सिन्धुज्वाला हाइड्रो प्रोजेक्टका रूपमा रहेको ‘क्यास्केड’ आयोजना हो । २१ मेगावाट क्षमताको यो आयोजनाको लागत ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यी दुई आयोजनाको लागत त्यसबेला १० अर्ब रुपैयाँ रहेकामा अहिले वृद्धि भई १३ अर्बभन्दा बढी पुग्ने कम्पनीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend