काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ ।
नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ ।
अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ ।