काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजावहाक वायुसेवा एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध लगाएको छ ।
सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने भएको छ ।
शुक्रबार भएको उक्त घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो । सोक्रममा एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती स्वीकार गर्दै माफी मागेका थिए । तर नेपालको नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालयलाई पत्र पठाउन लागिएको हो । उक्त निकायले निकायले कारबाही फुकुवा नगरुन्जेल नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि कारबाही गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शुक्रबार बिहान पौने ९ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको उक्त विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो ।
दुवै जहाज आमनेसामने भएपछि ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।