जल संकट र समाधानका उपाय

भीम उपाध्याय
९ चैत्र २०७७, सोमबार १४:१६

आज विश्व जल दिवस हो । हरेक वर्ष आज मार्च २२ का दिनलाई युएनले पानी दिवसको रूपमा घोषणा गरेको छ । जलको महत्व मानव जातिले भोग्न थालेको जल संकटले झन् झन् प्रमाणित गर्दै सचेत बनाउँदै लगेको छ ।

पृथ्वीमा पिउनयोग्य पानी फालाफाल छैन है, यसमा सचेत हुनैपर्छ । विद्यमान सीमित पानी काम नलाग्ने बनाउने नम्बर १ प्रकृतिका र आफ्नै दुश्मन मान्छे नै हो । आफ्नै खुट्टामा बन्चरो हान्ने प्राणी पनि मान्छे नै हो ।

पानी बहुमूल्य हैन, यो अमूल्य वस्तु हो । यो वस्तु हैन, जीवन हो । जीवनको आधार पनि पानी नै हो । यो पृथ्वीमा पानी छ र त प्राणी र वनस्पति छ । वनस्पति छ र त मान्छे छ ।

अहिले विश्वमा ७८ करोड मानिसले पर्याप्त सफा पानी पिउने पाएका छैनन् । सफा पानी खान नपाएर प्रतिदिन चार हजार बालबालिका मर्छन् ।

विकसित भनिने अमेरिकाको ५६% भूमि सुख्खाग्रस्त भइसकेको छ । अन्य विकसित मुलुकहरू पनि पानी संकटमा छन्, चिन्तित छन् र योजना रणनीति बनाएर काम गर्दैछन् ।

यदि अहिलेको अविवेकी जल उपभोग अभ्यासमा परिवर्तन भएन भने सन् २०२५ सम्ममा विश्वमा तीन अर्ब मानिस जल संकटमा फस्ने छन् । भारतका मुम्बई र दिल्ली सबैभन्दा बढी जल संकटमा परेको सहर हुने छन् ।

हामीले खाने बस्तुले के कति पानी खपत गरेको हुन्छ ?
१. १ केजी चिकेन उत्पादन गर्न ३९ सय लिटर पानी चाहिन्छ ।
२. १ केजी बफ÷बिफ÷मटनले ६ हजार लिटर लिन्छ ।
३. १ किलो गहुँले १ हजार लिटर खपत गरेको हुन्छ ।
४. १ किलो चामलले ३७ सय ६० लिटर उपभोग गरेको हुन्छ ।
५. १ कप कफीले १ सय ४० लिटर पानी खपत गरेको हुन्छ ।
६. १ कप चियाले ३० लिटर लिएको हुन्छ ।
७. एकजना सहरीया मान्छेले औषत १ सय लिटर दैनिक पानी उपभोग गर्छ ।

यो पृथ्वी ७२% जल हो । हाम्रो शरीर पनि ७२% जल हो । तर, पृथ्लीमा रहेको ९७% जल पिउन नमिल्ने नुनिलो पानी हो । माछाले मात्र खान मिल्ने खारा पानी हो ।
बाँकी रहेको ३% पानी मात्र पिउन मिल्छ तर…

२.५% बरफको रूपमा एन्टार्कटिक, आर्कटिक र हिमतालको रूपमा मानिसको पहुँच बाहिर छ । बाँकी बचेको पिउनयोग्य ०.५% पानी ताल, पोखरी वा नदीमा छ ।

०.५% मध्येको पनि सय भागको १ भाग (०.००५ %) मात्र हामीले उपभोग गर्ने पहुँचमा छ । बाँकी पानी पृथ्वीभित्रका कुनाकाप्चा वा एक्विफरमा भण्डारित छ ।

पानीमा संकट हुनु भनेको जीवन संकटमा परेको हो ।

पानी बचत गर्ने उपायहरू–

१. पानी प्रयोग गर्दा धारा खुला नराखौँ । धारा खुला राखी दाँत माझ्दा १५ लिटर खर्च हुन्छ ।

एउटा धाराबाट एक सेकण्डमा १ थोपा पानी लिक हँुदा वर्षको १० हजार लिटर पानी नष्ट हुन्छ ।

पानी रियुज र रिसाइकल गरौँ । एउटा कटनको टि–शर्टले २५ सय लिटर पानी लिएको हुन्छ भने एउटा जीनको लुगाले १० हजार लिटर पानी खपत गरेको हुन्छ ।

थोरै लुगा उपभोग गरौँ । वाशिङ मसिन वा डिश वाशरको प्रयोग जबसम्म फुल लोड हुदैन नगरौँ ।

नुहाउँदा बाथ टब ठकि हैन, शावर ठकि छ तर बकेट प्रयोग एकदम किफायती हुन्छ ।

गार्डेनिङमा प्रयोग गरिने ५०% पानी उडेर वा बगेर खेर जाने गर्छ । स्प्रिंकलर वा पाइपले पानी हाल्नुभन्दा सकेसम्म ड्रिप सिंचाई प्रविधि अपनाउने गरौँ । माटोमा चिस्यान छ भने पानी प्रयोग नगरौँ । माटो मुनी २ इन्चसम्ममा चिस्यान छ भने पानी चाहिएको हँुदैन ।

उडेर खेर नजाओस् भनेर बिहान वा बेलुकामात्र गार्डेनमा पानी हालौँ । बिरूवाको वरिपरि पातपतिंगर राखौँ ताकि नमी नउडोस्, ताकि समय, पैसा र पानीको बचत पनि होस् ।

त्यस्तो वस्तु प्रयोग गर्ने वा खाना खाने सचेतता कायम गरौँ जसको उत्पादनमा न्युनतम् पानी खपत भएको वा मिनिमम् वाटर फुटप्रिन्ट होस् ।

(यो लेख पूर्वसचिव उपाध्यायको सामाजिक सञ्‍जालबाट लिइएको हो ।)