१६ जेष्ठ २०८०, मंगलबार

को हुन् नयाँ आईजी वसन्त कुँवर ?

लेखाजोखा न्यूज

१० चैत्र २०७९, शुक्रबार ६:५१

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३०औं महानिरक्षिक (आईजी)मा वसन्तबहादुर कुँवरलाई बढुवा गरेको छ। एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवरले आईजीमा बाजी मारे।

कुँवर एआईजी बढुवा हुँदा पनि पहिलो मेरिट लिस्टमा थिए। डीआईजी बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भएका थिए।२०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनले सेवा प्रवेश गरेका थिए। १३ वर्ष इन्स्पेक्टरमा रहेका उनी २०६३ भदौ ८ गते डीएसपीमा बढुवा भएका थिए।

इन्स्पेक्टर र डीएसपी हुँदा सिन्धुली, रोल्पा, गुल्मी, सुनसरी, मोरङ, दाङ, काठमाडौं, नवलपरासी र डोटीमा खटिएर काम गरेको अनुभव कुँवरसँग छ। डीएसपीमै हुँदा मनाङ, गोरखा, धादिङको इन्चार्ज भएर काम गरेका थिए।

कुवँर २०७१ फागुन १० गते एसपी बढुवा भएका थिए। एसपी भएपछि नुवाकोट र चितवन जिल्लाको कमाण्ड कुँवरले गरेका थिए। चितवनको एसपी रहँदा उनले २०७३ सालमा पुलिस ब्याटन प्राप्त गरेका थिए।

उनी २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका थिए। एसएसपी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर उनले काम गरेका थिए भने प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा पनि उनले काम गरे।

डीआईजी भएपछि कार्य विभाग तथा मधेश प्रदेश प्रहरीको प्रमुखको रुपमा कुँवरले काम गरेका छन्। मधेश प्रदेश प्रहरी प्रमुख भएकै बेला उनी यही चैतको पहिलो साता एआईजीमा बढुवा भएका थिए।

कुँवरले प्रहरी सेवामा अहिलेसम्म सुप्रबल जनसेवा श्री, दैवीप्रकोप पीडितोद्वार पदक, गोरखा दक्षिणबाहु चौथो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदकलगायत पुरस्कार तथा १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्। यूएन मिसनमा सुडान र लाइबेरियामा काम गरेको अनुभव उनीसँग छ।

वसन्त पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन्। कुँवरको कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेको बताइन्छ। कांग्रेसकै नेताहरूको जोडबलमा उनी आईजीमा बढुवा भएका हुन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा २०२६ चैत १५ गते जन्मिएका कुँवरले त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर उर्तीण गरेका छन्। कुँवरका श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend