काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा बोलाएर बधाइ दिएका छन् । सोक्रममा राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित गर्न नहुने बताए ।
नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको भन्दै खुसी व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालमा खेलकुद क्षेत्रको पूर्वाधारमा कमी रहेकाले देशको सान राख्नका लागि पूर्वाधार बढाउन आवश्यक्तासमेत बताए ।
राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो चासो दिएर हेरेँ । असाध्यै राम्रो खेल थियो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, सरकारले खेलाडीको मनोबल बढाउनुर्छ ।’