काठमाडौं । उपराष्ट्रपतिका दुई उम्मेदवारले आफूले आफैलाई मत हाल्न नपाउने भएका छन् । एमालेबाट उम्मेदवार बनेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उम्मेदवार बनेका ममता झाले आफूलाई मत दिन नपाउने भएका हुन् ।
राष्ट्रपति तथा उपराष्ट्रपनि निर्वाचनमा संघ र प्रदेशका सांसदहरुले मात्र मतदान गर्न पाउने व्यवस्था छ । तर, उपराष्ट्रपतिका उम्मेदवार शाक्य झा गैरसांसद हुन् । त्यसैले उनीहरु दुबै जनाले भोट हाल्न नपाउने भएका हुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन् ।
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले पहिलो मतदान गरिसकेका छन । जनता समाजवादी पार्टीका यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
जनमत पार्टीका ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् भने एमाले अष्टलक्ष्मी शाक्य एक्ले चुनावी मैदानमा उत्रिएका छन् ।