काठमाडौं । जनयुद्धकालीन मुद्दालाई लिएर पहिलो पटक गत फागुन २३ गते आठ माओवादी धारको बैठक बस्यो । बैठकले प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि आठ माओवादी बैठक बसेर संयुक्त विज्ञप्ति जारी गरेर प्रतिवाद गरे ।
फागुन २६ गते पुनः दोस्रो बैठक बसेर संयुक्त पत्रकार सम्मेलन र सक्रमणकालीन न्यायका विषयलाई संयुक्त अन्तक्र्रिया गर्ने निर्णय गरे । संयुक्त पत्रकार सम्मेलन हुने भएपछि ड्राफ्ट गर्न माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार गर्न जिम्मेवारी दियो ।
प्रधानमन्त्री प्रचण्डले महराले बनाएको ड्राफ्ट संशोधन गर्न लगाएपछि अपिलको भाषालाई लिएर तीन माओवादी धार अलग भएका छन् । माओवादी धारको दुई बैठक सयुक्त रुपमा भएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी अलग भएका छन् ।
आइतबारको संयुक्त पत्रकार सम्मेलनमा नौ दल सहभागी हुने भनिएपनि अन्तिममा ६ दल मात्रै सहभागी भएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी नभएपनि महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेल लगायत दोस्रो र तेस्रो तहका नेताहरु सहभागी भए । अरु पाँच दलका शीर्ष नेताहरु नै सहभागी भएपनि प्रधानमन्त्री प्रचण्ड र तीन दल सहभागी नभएपछि संयुक्त पत्रकार सम्मेलनको ओज हुन सकेन । पत्रकार सम्मेलन भनिएपनि अन्तिममा ६ दलद्वारा हस्ताक्षर गरिएको अपिल सार्वजनिक गरेर प्रश्न उत्तर समेत गरिएन । माओवादी धारका ६ दलका नेताहरुले बोलेर संयुक्त पत्रकार सम्मेलन सकियो ।