८ असोज २०८०, सोमबार

बैंक ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

लेखाजोखा न्यूज

२८ फाल्गुन २०७९, आइतबार ६:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिइसकेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।

उनले भने, ‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढेकाले यस्तो ब्याजदरलाई कसरी एकल अंकमा ल्याउने भन्ने विषयमा समेत केन्द्रीय बैंक र सम्बद्ध पदाधिकारीलाई अवश्यका निर्देशन दिइसकेको छु ।’ यस्तै, प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सकसमा रहेपनि आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको बताए ।

‘आर्थिक स्थिती आत्तिइहाल्नुपर्ने स्थिती पनि छैन । गत वर्ष विदेशी मुद्राको सञ्चितमा ह्रास आउँदा देश आर्थिक संकटको भूमरिमा पर्ने होकि भन्ने चिन्ता थियो,’ प्रचण्डले भने, ‘छिमेकका केही मुलुकहरु वैदेशिक मुद्राको सञ्चिती घट्दा आर्थिकरुपमा टाट पल्टेका छन् ।’ हाल नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।

‘यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको देखाउँछ,’ प्रचण्डले थपे, ‘विगतमा कसिलो मौद्रिक नीति ल्याइएको थियो । अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने र आर्थिक सूचकलाई कसरी सुधार ल्याउने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित भएको छ ।’ यस्तै, सबैभन्दा धेरै पूँजीगत बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च बढाउन र निर्माण सकिएका आयोजनाको समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान दिएको छ ।

नेपालमा सबैभन्दा धेरैपटक संशोधन गर्ने कानुनको सूचीमा सार्वजनिक खरिद ऐन आएपनि व्यवसायीको समस्या समाधान नभएको प्रचण्डले बताए । आगामी दिनमा यो ऐन संशोधन गर्दा निर्माण व्यवसायीलाई राखिने र सधैका लागि निर्माण क्षेत्रको समस्या समाधान गर्ने प्रधानमन्त्रीले आश्वासन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend