तानाशाह कि शक्तिशाली सरकार ?

बलराम पाण्डेय
१ चैत्र २०७७, आईतवार ०९:०३

अतिवादको चरम रुप तानाशाह मानिन्छ । सरकार शक्तिशाली हुँदा तानाशाह मर्दछ भने नेतृत्व शक्तिशाली हुँदा तानाशाह जन्मन्छ । सरकार सञ्‍चालनका अवयव कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वेच्छाचारी बनाउनु या व्यक्ति अनुकूल बनाउनु पनि लोकतान्त्रिक पद्धति विपरीत हुनसक्छ । जो तानाशाही उन्मुख हो कि ?

निर्णायक शक्तिलाई आत्मकेन्द्रित गर्दै अनुकूल गतिविधि गराउनु, स्वेच्छाचारी निरःकुश हुनु तानाशाह मानिन्छ । राज्यको संविधान, कानुन, विधि, पद्धति, मुल्य मान्यता सिद्धान्त लगायत विधिको शासन विपरीत गतिविधि गर्ने व्यक्ति तानाशाहमा गनिन्छ । राज्यको निर्णायक तह निरंकुश, स्वेच्छाचारी, आत्मकेन्द्रित, अवसरवादी, चरम महत्वाकांक्षी र स्वार्थी हुँदा तानाशाहको जन्म हुन्छ ।

नेपाली राजनीतिक परिदृश्य विगत केही समयबाट यही मार्गमा जाँदैछ कि ? पछिल्लो हरेक घटना अनपेक्षित आत्मकेन्द्रित देखिएका छन् । पुस ५ गतेको प्रतिगामी कदमबाट नेतृत्वको शैली लोकतान्त्रिक कि तानाशाही प्रश्न उब्जेको छ ।

सदनको पुनर्स्थापनादेखि पार्टीको अस्तित्व खारेजीसम्मका घटनाले सरकार शक्तिशाली भयो या व्यक्ति तानाशाही ? विश्लेषणको विषय हुनसक्छ । पार्टीको आन्तरिक
कलह सतहमा छताछुल्ल हुँदासम्म अन्तरसंघर्षको भजनमा लुक्ने नेकपा ऋषि कट्टेलसँग थन्किएपछि व्यक्ति शक्तिशाली भएको पाइन्छ । अदालतको अनपेक्षित निर्णयले पाएको शक्ति चिसो रछ्यानमा न्यानो भएपनि शक्ति हत्याउन प्रपञ्च अझ रचिदै हो कि ?

लोकतान्त्रिक मूल्य मान्यता सिद्धान्त संविधानका मर्म भावना या सामूहिक मर्म भावनाभन्दा पनि अनुकूल मर्म भावना खोजिँदा गन्तव्यमा प्रश्‍न खडा भएको हो कि ?
जनताको अपेक्षाभन्दा अनुकूल अपेक्षाका लागि पार्टी फुटाउन, संवैधानिक रिक्तता पूर्ति गर्नलगायत कार्यका लागि संविधानको मर्मविपरीत अध्यादेश आउनु सकारात्मक कदम हुन त ? अझ राष्ट्रप्रमुखको अन्ध निर्णयको स्विकारोक्तिले देश कता जाँदैछ ।

संवैधानिक विधि पद्धतिभन्दा नेतृत्व साम,दाम,दण्ड,भेदको नीतिले शक्तिशाली बन्दै गएको पाइन्छ । नेतृत्व जतिसुकै शक्तिशाली देखिए पनि हरेक घटनाको परिणाम मुख छोप्दा लाज देखिएझैँ भएको पाइन्छ ।

नेतृत्व शक्ति केन्द्रित गर्न हर कुनै कदम लिन तयार छ । सदन विघटनदेखि दल छुट्टाउन अनि दलभित्रैका फरक मत तह लगाउन, हर कदम सत्ता कब्जाको दुस्साहस त हैन जनतामा आशंका उब्जिएको पाइन्छ । सत्ता कब्जा पूर्व नेतृत्व दल कब्जामा केन्द्रित त होइन, जिज्ञासा भएको छ । सत्ता कब्जाको पूर्व अभ्यास हो या फरकमत पाखा लगाउने उपाय भविष्यले बताउँला ।

सामूहिक हित प्रबर्द्धनमा संगठनका निर्णयभन्दा व्यक्तिका निर्णय हाबी हुनु लोकतान्त्रिक पद्धति मानिँदैन । संगठनमा फरकमतको मन्थनबाट नयाँ विचार जन्मन्छ जो जनहित प्रवर्द्धनमा उपयोग गरिन्छ । तर, फरकमत र विचारको घाटी निमोठ्ने प्रवृत्तिले जनताको सरकार शक्तिशाली बन्‍नुभन्दा व्यक्तिमा तानाशाही प्रवृत्ति भित्रिन सक्छ । जुन लोकतान्त्रिक मर्म विपरीत हुनजान्छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई साम, दाम, दण्ड, भेदको नीतिले अनुकूल उपयोग गर्नु तानाशाही प्रवृत्तिभित्र पर्दछ । राजनीतिक प्रवृत्ति र परिदृश्य यस्तै बन्दै जाँदा भयावह स्थितिमा परिणत हुनसक्छ कि ?

सुधारिनु पर्ने नेतृत्वको गन्तव्य दबाउन र पाखा लगाउन मै व्यस्त देखिँदा प्रश्न खडा भएको छ । लोकतान्त्रिक विचार भन्दा विपरीत विचार र मत आउन थाले भनेपनि तानाशाहीको शुरुआती चरण मानिन्छ ।

दासत्व स्वीकारेमा नेतृत्वले लोकतन्त्रको घाँटी निमोठेर तानाशाह बन्‍नसक्छ । तानाशाही प्रवृत्तिमा भ्रष्टाचार, अराजकता, अनिर्णय, कुशासन झन मौलाउँछ । कमजोर महसुस गरिँदा अलोकतान्त्रिक पद्धतिबाट दुनियाँमा शक्ति केन्द्रित गर्न खोजिन्छ जो तानाशाही प्रवृत्ति हो । जुन हिटलर प्रवृत्ति जहिले पनि अवसानमा अन्त्य भएको पाइन्छ ।

सरकार कब्जा गर्न नदिएको राग पार्टीमा पोखिएको अवस्था हो कि ? पार्टीभित्रको फरक मत र विचार पाखा लगाउन एक निर्णय गर्नु कुन पद्धति विधि हो ? तल्लो स्तरसम्म गिरेर शक्ति आर्जनमा पछि नहट्ने प्रवृत्तिले अकल्पनीय दुर्घटना निम्त्याउँछ ।

सरकार सञ्‍चालनमा देखिएको द्विविधाभित्र खेलेर किनबेचबाट शक्ति केन्द्रित गर्ने दाउ हुनु पनि कुन प्रवृत्ति हो ? सदनका नेतृत्वले विभिन्न वहाना वा शर्त खोज्दा प्रतिगमनको मतियार मात्रै होइन तानाशाह जन्मिन पनि सक्छ । सदनबाट प्रतिगमन अलग नगरेमा जस्तोसुकै भविष्य देखिनेछ ।