१८ चैत्र २०७९, शनिबार

राष्ट्रियसभा उपाध्यक्षबाट किन पछि हट्यो कांग्रेस ?

लेखाजोखा न्यूज

२२ माघ २०७९, आइतबार १२:२७

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीका उर्मिला अर्याललाई सघाउने निर्णय गरेको हो । अर्यालले आज उम्मेदवारी दर्ता गराउँदैछन् ।

कांग्रेसले यसअघि राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर, नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर उसले माओवादीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

२६ पुसमा सरकारलाई विश्वासको मत दिएको कांग्रेसले बदलामा राष्ट्रपति चाहेको छ । उसले राष्ट्रपति आफुले पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आधाआधी फकाइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवारलाई सघाएर आफ्नो पक्षमा सकारात्मक माहोल बन्ने कांग्रेस नेताहरुको बुझाई छ ।

पूर्वसहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेको बताइन्छ । तर, २६ पुसमा संसदमा कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिती फेरिएको छ ।

प्रचण्ड राष्ट्रिय सहमति खाज्ने प्रयासमा छन् । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खाज्ने निर्णय पार्टी बैठकबाटै पारित गराइसकेका छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने गठबन्धनको सहमतिअनुसार एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्नुपर्ने अडानमा छन् ।

दुई महिनापनि नपुग्दै राष्ट्रपतिमा कुरा नमिल्दा वर्तमान सरकार संकटतिर धकेलिएको छ । यस्तो अवस्थामा माओवादीलाई फकाउँदै कांग्रेसले राष्ट्रपति एमालेबाट फुत्काउन चाहान्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend