१८ चैत्र २०७९, शनिबार

४० लाख डोज खोप स्टोरमा, बुस्टरका लागि छैन खोप

लेखाजोखा न्यूज

२२ माघ २०७९, आइतबार ८:०४

काठमाडाैं । चीन सरकारले गत चैतमा अनुदानमा पठाएको ४० लाख सिनोभ्याक खोप प्रयोगविहीन भएको छ । सिनोभ्याक बुस्टरका रूपमा प्रयोग गर्न नमिल्ने र पहिलो डोज लगाउन बाँकी जनसंख्या नभएकाले खोप प्रयोगविहीन भएको हो ।

१८ वर्षभन्दा माथिका नागरिकमा लगाउन मिल्ने सिनोभ्याक खोप १२ चैतमा ३५ लाख र १४ चैतमा पाँच लाख डोज नेपाल आइपुगेको थियो । प्रयोगका लागि प्रशस्त म्याद बाँकी रहेको भन्दै तत्काल प्राथमिकतामा नपरेको खोप झन्डै ११ महिनादेखि टेकुको कोल्ड चेनमा स्टक छ ।

‘सिनोभ्याकको यो खोप पहिलो डोज लाउन बाँकी जनसंख्या रहेको समयमा आएको हो । त्यतिवेला खोपको म्याद थोरै भएका अन्य खोप प्राथमिकतामा राखिएकाले सिनोभ्याक खोप स्टकमा थियो । बुस्टरका रूपमा प्रयोग गर्न नमिल्ने र पहिलो डोज लगाउन बाँकी जनसंख्या नरहेकाले खोप यत्तिकै स्टकमा रहेको रहेको हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने ।

म्याद सकिन एक वर्ष बाँकी रहेको सिनोभ्याक खोप आवश्यक रहेको देशमा पठाउने विषयमा समन्वय भइरहेको डा. अधिकारी बताउँछन् । ‘आवश्यक भएको देशमा पठाउन सम्भावित उपायको खोजी भइरहे पनि अहिलेसम्म कहाँ पठाउने निश्चित भइसकेको छैन,’ उनले भने ।

हाल बुस्टरका लागि नेपालमा खोप उपलब्ध छैन । हाल फाइजर, कोभिसिल्ड, जोनसोन खोप लगाएकाका लागि बुस्टर खोप उपलब्ध छैन । बुस्टरमा प्रयोगका लागि अनुमति पाएको फाइजर खोप सकिएसँगै खोप लगाउनका लागि अस्पताल पुगेका समेत फर्किरहेका छन् ।

पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्ने, तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन नमिल्ने भएकाले खोप अभाव भएको सहप्रवक्ता डा. अधिकारी बताउँछन् । बुस्टर डोज खोप नहुँदा कोभिडको संक्रमण बढ्न सक्ने अवस्था र विशेषगरी विदेश जानेलाई समस्या भइरहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend