काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वमा रहेको साझा पार्टीबाट प्रवक्ता रहेका सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल बाहिरिएका छन् ।
उनीहरुले पार्टीका सबै जिम्मेवारी त्यागेर पार्टीको संरचनाभन्दा अलग रहने बताएको जनाइएको छ । आचार्यलाई जुनसुकै बेला पार्टीमा जोडिन चाहेमा खुला तरिकाले स्वागत गर्ने निर्णय पनि साझा पार्टीले गरेको जनाइएको छ । अर्का केन्द्रीय सदस्य मुमाराम खनालले व्यक्तिगत कारणहरु देखाएर पार्टीबाट राजीनामा गरेका थिए ।
त्यसैगरी साझा पार्टीले समान सोँच भएका पार्टी, समूह र व्यक्तिहरुसँगको एकीकरणको प्रक्रियालाई अघि बढाउन वागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
संवाद समितिले विवेकशील पार्टीसँग एकताको तयारी पनि थाल्ने एक नेताले जानकारी दिए ।