१६ जेष्ठ २०८०, मंगलबार

डा. रुइतलाई १३ करोडको पुरस्कार

लेखाजोखा न्यूज

४ माघ २०७९, बुधबार ७:४८

एजेन्सी । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति/संस्थालाई प्रदान गर्दै आएको छ । खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका थिए ।

डा. रुइतले मोतियाबिन्दुको उपचार गर्ने सरल विधि विकास गरेका थिए ।उनले इन्ट्राअकुलर लेन्स विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा. रुइतले पहल नगरेको भए ती मानिसले सम्भवतः संसार देख्न पाउने थिएनन् ।

इसा अवार्ड पाउने डा. रुइत पाँचौं हुन् । यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको थियो । कोभिडका कारण सन् २०२१ मा इसा अवार्ड घोषणा गरिएको थिएन । यो अवार्डअन्तर्गत डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

यस पटक अवार्डका लागि सुरुमा १ सय ४५ व्यक्ति तथा संस्था मनोनयनमा परेका थिए । उनीहरूमध्ये ६ व्यक्ति/संस्थालाई ‘सर्टलिस्ट’ गरिएको थियो, जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी सिप, बंगलादेशको फ्रेन्ड्ससिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसन र नेपालका रुइत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend