नेपाल र भुटानका सीमा क्षेत्र थप १३ हजार एसएसबी तैनाथ गर्दै भारत

लेखाजोखा न्युज
२१ फाल्गुन २०७७, शुक्रबार ०६:३०

नयाँ दिल्ली । भारत सरकारले नेपाल र भुटान सीमा क्षेत्र र त्रिपक्षीय सीमा नाकामा थप १३ हजार सशस्त्र सीमा बल (एसएसबी) तैनाथ गर्ने भएको छ ।

सरकारले भुटान र तिब्बत जोडिएको सक्किमको त्रिपक्षीय नाकालगायत भुटान र नेपालको सीमा क्षेत्रको सुरक्षालाई थप सुदृढ पार्नका लागि १३ हजारभन्दा बढी एसएसबी तैनाथ गर्न स्वीकृति प्रदान गरेको हो ।

यद्यपि केन्द्रीय गृह मन्त्रालयले सीमा क्षेत्रका लागि नयाँ फ्रन्टियरको स्थापना गर्नभने अस्वीकार गरेको छ । तर एसएसबीलाई तीनवटा नयाँ सेक्टरमध्ये कुनै एउटा फ्रन्टियर स्थापना गर्न भने अनुमति दिएको छ ।

भारत नेपाल र भुटानसँगको खुला सीमा क्षेत्रको सुरक्षाका लागि करिब ९० हजार एसएसबी परिचालन गरिएका छन् । एसएसबी डाइरेक्टर जनरल (डीजी) राजेश चन्द्रले भारतीय समाचार एजेन्सी पीटीईसँगको कुराकानीमा अहिलेको फेजमा तीनवटा युनिट तयार गरिने र हरेक युनिटमा चार बटालियन गरि १२ बटालियन थप गर्न लागिएको बताएका छन् ।

उनले भने, “एसएसबीका लागि नयाँ बटालियन र नयाँ एसएसबी फ्रन्ट स्थापना गर्न सरकारले अनुमोदन गरेर ठूलो सहयोग गरेको छ । नयाँ जनशक्तिले सीमा सुरक्षा अझ सुदृढ पार्नेछ भन्‍‍ने कुरा सुनिश्चित गराउन चाहन्छु ।”

एसएसबी प्रमुखले सरकारले नेपाल सीमामा चार एकीकृत जाँच चौकी (आईसीपी) का लागि ५४० पोस्ट स्वीकृत गरिएको बताएका छन् । उनले हाल दुई जोगबनी र रक्सौलमा रहेका आईसीपीका लागि भने यसअघि नै एसएसबी तैनाथ गरिएका थिए ।

उनले नयाँ स्वीकृतिलाई कार्यान्वयन गर्ने चरणमा रहेकोसमेत उनले बताएका छन् ।

गृह मन्त्रालयले अनुमोदित सीमा बलको आधिकारिक प्रस्ताव अनुसार नयाँ बटालियनहरुलाई नेपाल र भुटानका सीमावर्ती चौकीसँगको दूरी घटाउने, व्यापार र ट्रान्जिट मार्ग सुदृढीकरण गर्ने र सिक्किमको त्रिपक्षीय सीमा नाकामा एसएसबीको सुदृढीकरणका लागि प्रयोग गरिने योजना रहेको छ । – दी प्रिन्ट