नयाँ दिल्ली । सन् २०२० को जुन १५ मा भारतको लद्दाखस्थित गलवान भ्यालीमा चीन र भारतीय सेनाबीच हिंसात्मक झडप भयो । त्यसको चार महिनापछि अक्टुबरमा मुम्बइमा एक ठूलो पावर ग्रिड फेल भयो । यी दुई घटनाहरु एकआपसमा अन्तर्सम्बन्धित छन् र यसमा चिनियाँ हात रहेको खुलेको छ ।
अमेरिकाको म्यासचुसेट्सस्थित साइबर सेक्युरिटी कम्पनी रेकर्डेड फ्युचरले जारी गरेको एक रिपोर्टमा चीन सरकारसँग सम्पर्कमा रहेका एक ह्याकर्सले म्यालवेयरमार्फत भारतको महत्वपूर्ण पावर ग्रिडलाई निशाना बनाएको उल्लेख छ ।
रेकर्ड फ्युचर एक साइबर सेक्युरिटी कम्पनी हो, जसले विभिन्न मुलुकमा इन्टरनेटको प्रयोगबारे अध्ययन गर्दछ । न्युयोर्क टाइम्समा प्रकाशित यो समाचारपछि भारत र चीन दुबैले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
भारतको प्रतिक्रिया
भारतका केन्द्रीय उर्जामन्त्री आरके सिंहले अक्टोबर, २०२० मा मुम्बइको पावर ‘ब्ल्याकआउट’ का घटनामा चीन अथवा पाकिस्तानका साइबर सेनाको आक्रमणका कारण भएको हो भन्ने कुनै प्रमाण नभएको बताएका थिए । त्यसैगरि महाराष्ट्र सरकारले पनि यस मामिलाको जाँच गरेको थियो । महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले साइबर प्रहरीको अनुसन्धान रिपोर्ट बुधबार विधानसभामा राखेका छन् ।
उक्त रिपोर्टमा मुम्बइ पावर ब्ल्याकआउटको कारण साइबर आक्रमण हुनसक्ने उल्लेख गरिएको छ । कुनै विदेशी सर्भरबाट मुम्बइको डाटा लग इन भएको देखिएको छ । मुम्बइका गृहमन्त्री देशमुखले अहिले मुम्बइमा मात्रै यो घटना भएको र देशभर यो अवस्था आउनसक्ने भएकोले अलर्टमा रहनुपर्ने बताएका छन् ।
चीनको प्रतिक्रिया
यस मामिलामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्रमाण बिना कसैमाथि यसरी आरोप लगाउनु गैर जिम्मेवारपूर्ण काम भएको बताएको छ । विदेश मन्त्रालयले भनेको छ, “चीन सधैं साइबर सुरक्षाको पक्षधर मुलुक हो । कुनै पनि साइबर आक्रमणलाई हामी निन्दा गर्दछौं ।”
साइबर सुरक्षाका मामिलामा अड्कलबाजीको कुनै भूमिका नहुने चिनियाँ विदेश मन्त्रलायले जनाएको छ ।
चीनमाथि अमेरिकाको आरोप
अमेरिकाले यसअघि पनि विभिन्न समयमा साइबर आक्रमणमा चीनमाथि आरोप लगाउँदै आएको छ । अमेरिकाले यस मामिलामा पनि चीनको साइबर हमला नै कारक भएको बताएको छ ।
यसअघि सन् २०१४ मा अमेरिकाले पाँच निजी कम्पनी तथा श्रम संगठनको तथ्यांक र गोप्य दस्तावेजहरु चोरी गरको चीनमाथि आरोप लगाएको थियो । सन् २०२० को जुलाइमा पनि अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको इन्टलेक्चुअल प्रोपर्टी चोरी गरेको आरोप लगाउँदै टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गराएको थियो ।
त्यस समयमा अमेरिकी खुफिया एजेन्सी एफबीआईका निर्देशकले जासुसी तथा सूचना चोरीका कारण अमेरिका अहसलेसम्मकै सबैभन्दा ठूलो खतरामा रहेको बताएका थिए । अमेरिकासहित अस्ट्रेलिया, भियतनाम, ताइवानलगायतले पनि चीनले साइबर आक्रमण गरेको आरोप लगाएको थियो ।
चिनियाँ साइबर सेना
अब्जर्भर रिसर्च फाउन्डेसनका कार्तिक बोमाकान्तिकले भारत र चीनका साइबर सेनाको विश्लेषण गर्दै एक पेपर लेखेका छन् । बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, “चीनसँग विभिन्न किसिमका साइबर आक्रमण गर्ने विभिन्न फोर्सहरु तयार गरिएका छन् । जसलाई पीएलए-एसएसएफ अर्थात पिपुल्स लिब्रेसन आर्मी- स्ट्राटेजिक सपोर्ट फोर्स भनिन्छ ।”
सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनामा विभिन्न परिवर्तन गरेका थिए । यही क्रममा पीएलए-एसएसएफको स्थापना गरेका थिए । यस समूहमा कति जना सामेल छन्, यसलाई कसले निर्देशन गरिरहेको छ भन्ने कुरा बाहिर आउँदैन । एक प्रारम्भिक अनुमानका आधारमा भन्न सकिन्छ कि यसमा हजारौं साइबर सेना छन् भने यसको निर्देशन जनरलस्तरमा सैनिक अधिकारीले गर्दछन् ।
यसमा प्रविधिका विभिन्न क्षेत्रमा कार्यरता मानिसहरु पनि सामेल छन्, जसलाई ह्याक गर्ने विषयमा परिचालन गरिन्छ ।
साइबर आक्रमण रोक्न भारत कति सक्षम ?
यस किसिमका आक्रमणबाट बच्नका लागि भारतका दुईवटा संस्थाहरुले काम गर्ने गरेका छन् । जसमा एक हो, भारतीय कम्युटर इमरजेन्सी रेस्पोन्स टिम (सीईआरटी) । सन् २००४ मा साइबर आक्रमणको क्रिटिकल इन्फर्मेसनका आधारमा तुरुन्त डिफेन्सको काम गर्दछ ।
अर्को छ, नेशनल क्रिटिकल इन्फर्मेसन इन्फ्रास्टक्चर प्रोटेक्सन सेन्टर । सन् २०१४ मा स्थापना गरिएको यस संस्थाले क्रिटिकल इन्फ्रास्टक्चरमाथि हुने आक्रमणको अनुसन्धान र रेस्पोन्सको काम गर्छ ।
अब्जर्भर रिसर्च फाउन्डेनसकी अनुसन्धानकर्ता तृष्णा रेले भनिन्, “भारतमा साइबर सुरक्षा कानुन अलगै छैन । हाल आईटी एक्ट अन्तर्गत यसको कानुन बनाइएको छ । यसबाहेक पर्सनल डाटा प्रोटेक्सन एक्टमा पनि केही प्रावधानहरु राखिएका छन् । सन् २०२० मा साइबर सेक्युरिटी स्ट्रेटजी बनाइसक्नुपर्ने थियो । तर, हालसम्म बन्न सकेको छैन ।”
सन् २०१३ मा रणनीति बनाइए पनि पछिल्लो समय साइबर आक्रमणको तरिकामा निकै परिवर्तन भइसकेका कारण रणनीति पनि परिवर्तन गर्न आवश्यक छ ।
(बीबीसीमा सरोज सिंहले लेखेको समाचारको नेपाली अनुवाद ।)