के कांग्रेस सरकारमा जान हुन्‍न र ?

सुरेश जोशी
१७ फाल्गुन २०७७, सोमबार १२:५०

बेलायती अर्थशास्त्री सर थोमम ग्रेसमको मौद्रिक अर्थशास्त्रमा मुद्रा सम्बन्धमा एक चर्चित भनाइ छ, जसलाई ‘ल अफ ग्रेसम’ भनिन्छ । जसअनुसार खराब सिक्काले असल सिक्कालाई बजारबाट बाहिर धपाउँछ (bad money drives out good.) थोमसको यही भनाइलाई वीपी कोईरालाले आफ्नो एउटा लेखमा राजनीतिसँग जोड्‌दै भन्‍नुभएको छ, “राजनीति भलाद्‌मीले गर्ने होइन भनेर यसलाई छाड्दै जाने नीति मानिसहरुले लिन थाले भने राजनीति त कायम रहन्छ, तर त्यसमा भाग लिने मानिसहरु कमसल खालका हुन्छन् र ग्रेसमको नियमजस्तै कमसल सिक्काले असल सिक्कालाई बजारबाट धपाउछ भनेजस्तै राजनीति पनि निन्दनीय हुन पुग्छ ।”

त्यस्तै राम्रा मान्छेले राजनीतिमा लागी सत्ता प्राप्त गर्ने चाहाना राख्नु कुनै दोष वा निन्दनीय मनशाय हुन नसक्ने वीपीले उल्लेख गर्नुभएको छ । सुन्दरीजलको कालकोठरीमा लेखिएको भनिएको ‘दलीय व्यवस्थाको आवश्यकता’ शीर्षकको उक्त लेखमा कोइरालाले भन्‍नुभएको छ, “राज्यसत्ता प्राप्त गर्ने उद्देश्यलाई राजनीतिको मुल उद्देश्य भने पनि गौण उद्देश्य भने पनि हुन्छ । राजनीतिको उद्देश्य राज्यसत्ताको प्रयोगद्वारा आफ्नो लक्ष्य एवंम् नीति र कार्यक्रम कार्यान्वयन गर्ने हुन्छ । त्यसैले राजनीतिलाई राज्यसत्ताबाट अलग्याउन नसकिने भएकाले सत्तामा जान खोज्‍नु कुनै दोष वा निन्दनीय मनसाय हुन नसक्ने वीपीले उल्लेख गर्नुभएको छ ।

माथि उल्लेखित भनाइ उदृत गरिरहँदा मुलुक राजनीतिक संकटमा छ । दुई तिहाइ नजिकको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी सत्ता सम्हाल्‍न असफल भएको छ । बढ्दो महँगी, बेरोजगारी र भ्रष्टाचारले आर्थिक पार्दर्शीतासहितको जवाफदेही शासन प्रणाली र कल्याणकारी राज्यको खिल्ली उडाएको छ । यतिले नपुगेर सत्ता प्राप्तीको व्यक्तिगत लहडको परिणाम असंवैधानिक र अलोकतान्त्रिक तरिकाले गरिएको संसद भंगलाई यसपटक सम्मानित सर्वोच्च अदालतले प्राण भरिदिए पनि कम्युनिस्टको नौटंकी कायम रहँदा मुलुक पुन: अस्थिरताको भूमरीमा फस्‍ने खतरा कायमै छ ।

करिब दुई तिहाई बहुमतको शासन सञ्‍चालन गर्ने जनादेश पाएको नेकपा पार्टी यतिखेर विभाजित अवस्थामा छ । तर कानुनी जटिलताका कारण विभाजन हुन सकेको छैन । सबै प्रतिपक्ष मिल्दा पनि सरकार गठनको सम्भावना पनि नहुँदा मुलुकले चाँडै राजनीतिक निकास पाउने सम्भावना पनि छैन ।

१३ दिन भित्र संसदको बैठक बोलाउने सर्वोच्चको आदेशले गर्दा २३ गते संसदको बैठक बोलाउन मन्त्रिपरिषद्‌ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । नेकपा औपचारिक रुपमा विभाजन नहुँदा नयाँ सरकार गठनको सम्भावना क्षीण छ । कानुनी जटिलताले नेकपा विभाजनको निर्णय हुन कठिन मात्र छैन, देश अनिर्णयको बन्दी भइ संकट लम्बिने भय पनि त्यत्तिकै छ ।

कम्युनिस्ट नेताको अकर्मण्यताले मुलुक अनिर्णयको बन्दी बन्दै गर्दा अनेक राजनीतिक चर्चा परिचर्चा चलिरहेका छन् । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई फुटको नजिक रहेका नेकपाका दुवै समूहले सत्ताको नेतृत्व गर्न आग्रह गरेको कुरा पनि बाहिर आएको छ । प्रचण्डले त संसद पुनर्स्थापना भएकै दिन सञ्‍चारमाध्यमलाई प्रतिक्रिया दिँदै अबको नेतृत्व प्रतिपक्ष पार्टीबाट भन्‍नसम्म भ्याए । त्यसको कारण प्रधानमन्त्री ओलीको असक्षमताको नैतिक जिम्मेवारी आफ्नो पनि हुने उनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू सत्ताबाट बाहिरिनु पर्दा सरकारको नेतृत्व कांग्रेसले गर्ने भनिरहेकै छन् ।

यसरी प्रमुख प्रतिपक्ष दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा सत्ताको नेतृत्व गर्ने चर्चा चलिरहँदा उनकै पार्टीका केही नेताहरुले भने चर्को विरोध पनि गरिरहेका छन् । निश्चिति रुपमा जनमत कांग्रेसलाई प्रतिपक्षमा बस भन्‍ने नै हो । तर सरकार चलाउन जनम्यान्डेट पाएकाहरुले देशलाई अस्थिरतातर्फ धकेली अनिर्णयको बन्दी बनाइरहँदा हामी सक्दैनौं, तपाईले नेतृत्व लिइदिनु पर्‍यो भन्दै नेतृत्वको आग्रह गर्दा कांग्रेसजस्तो जिम्मेवार पार्टीले हुन्‍न भन्‍नुको कुनै तुक छैन ।

जसलाई जनताले सत्ताको साँचो दिए उसैले आफूले नसकेको भन्दै सत्ता चलाउन अनुरोध गरिरहँदा हामीले सरकारमा जानु हुन्‍न भन्‍ने मत व्यक्तिगत कुण्ठा सिवाय केही हुन सक्दैन । बरु सरकारको नेतृत्व गरेर कांग्रेस अब सम्हालिनुपर्छ । कांग्रेससँग सरकार सञ्‍चालनको अवसर आएमा मुलुकको वर्तमान गतिरोधको अन्त्य गर्दै संविधान कार्यान्वनका बाँकी काम पूरा गरि मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन कुनै कसर बाँकी राख्नु हुन्‍न ।

आश्वासनका भारी बोकाएर जनमत लिएका कम्युनिस्ट पतन हुनुमा व्यक्तिगत स्वार्थ नै प्रधान भयो । तसर्थ यतिखेर कांग्रेस व्यक्तिगत कुण्ठा द्वेष सबै छोडेर मुलुकमा उत्पन्‍न गतिरोध अन्त्य गर्न अत्यन्तै जिम्मेवार बन्‍नु जरुरी छ । त्यो कार्य गर्ने क्रममा सत्ताको नेतृत्व गर्ने अवसर आएमा पनि छोड्नु हुन्‍न र वर्तमानको अनिश्चिततालाई हटाइ मुलुकलाई अग्रगमनको यात्रामा हिडाउनु नै बुद्धिमतापूर्ण निर्णय हो की ?