२४ माघ २०७९, मंगलबार

भारतले राेक्यो महाकाली नदीमा बाँध निर्माणकाे काम

लेखाजोखा न्यूज

२० मंसिर २०७९, मंगलबार ७:३५

दार्चुला । दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धकाे काम तत्कालका लागि रोकेको छ ।स्थानीयवासीको निरन्तर आक्रोशपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणकाे काम तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिलेलाई संरचना निर्माणकाे काम रोक्न तयार भएको जनाएको छ । भारतीय पक्षबाट पटक–पटक महाकालीको बहाव नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयवासीको गुनासो छ ।

भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले हिजाे सोमवार यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, ‘मौखिक सहमति भएको हो । विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौँ । बाँकी क्षेत्रमा उहाँहरूको काम जारी छ।’

थप यो बारेमा भोलि बुधवार दुवै देशका अधिकारीबीच बैठक बस्ने जानकारी प्रमुख जिल्ला अधिकारी उपाध्यायले दिएका छन् । तर मौखिकरूपमा जानकारी आए पनि लिखित जानकारी नआएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend