भारतमा सामाजिक सञ्‍जालसम्बन्धी नयाँ नियम : के-के छन् प्रावधान ?

लेखाजोखा न्युज
१३ फाल्गुन २०७७, बिहीबार १८:४१

नयाँ दिल्ली । भारत सरकारले डिजिटल प्लेटफर्मको दुरुपयोग रोक्न र सामाजिक सञ्‍जालमार्फत फैलिने गलत सूचनाहरुलाई रोक्‍नका लागि नयाँ नियम जारी गरेको छ । भारत सरकारले बिहीबार डिजिटल प्लेटफर्मको नियमनका लागि नयाँ निर्देशिका जारी गरेको भारतीय सञ्‍चारमाध्यमहरले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रीद्वय रबिशंकर प्रसाद र प्रकाश जाभेदकरले प्रगतिशील संस्थागत संयन्त्र स्थापनाका लागि नयाँ नियम जारी गरिएको बताए । उनीहरुले नयाँ नियममा आचारसंहिता र समाचार प्रकाशकहरुले तीन तहको गुनासो सम्बोधनको संयन्त्र स्थापना गरिनेसमेत बताएका छन् ।

मन्त्रीद्वय प्रसाद र जाभेदकरले सामाजिक सञ्‍जालमा दोहोरो मापदण्ड मान्य नहुनेसमेत बताएका छन् ।

मुख्य प्रावधानहरु :

– सामाजिक सञ्‍जालमार्फत दुर्व्यवहार गरेको र गलत समाचारहरु फैलाएको भन्‍ने गुनासाहरु आएपछि सन् २०१८ मा यो नियमको मस्यौदा तयार गरिएको थियो । यसमा दुईवटा भागमा वर्गीकरण गरिएको छ । जसमा सोसल मिडिया इन्टरमिडियरी र सिग्‍निफिकेन्ट सोसल मिडिया इन्टरमिडयरी रहेका छन् । त्यसैगरि गुनासो सम्बोधन र स्वनियमनदेखि आचारसंहिकताको पालना गराउनेसम्मका लागि तीन तहको संयन्त्र स्थापना गरिने भएको छ ।

– जसमा पहिलो श्रेणीमा प्रकाशकद्वारा स्वनियमन, दोस्रो श्रेणीमा प्रकाशको स्वनियमन संयन्त्रमार्फ स्व-नियमन र तेस्रो श्रेणीमा ओभरसाइट मेकानिजम् रहनेछ ।

– नयाँ नियमानुसार नग्‍नता, महिलाको तस्बिरहरुमा एउटाको शरीरमा अर्कोको टाउको राखेर गरिएका पोस्टहरु २४ घण्टाभित्रै हटाइने । यस्ता पोस्टहरु गुनासो सम्बोधन संयन्त्रले २४ घण्टाभित्र हटाउने र १५ दिनभित्र डिस्पोज गर्ने ।

– सामाजिक सञ्‍जाल प्लेटफर्महरुले सरकार अथवा अदालतको आदेशमा त्यस्ता पोस्ट गर्नेहरुको जानकारी उपलब्ध गराउनुपर्नेछ । यो भारतको सार्वभौमिकता, राज्यको सुरक्षा, विदेशी राज्यहरुसँगको सम्बन्ध, बलात्कार आदिका विषयमा लागु हुनेछ ।

– गुनासो सम्बोधन संयन्त्रका अधिकारीहरुले मासिक रुपमा सामाजिक सञ्‍जाल प्लेटफर्महरुको अवस्थाबारे प्रतिवेदन पेश गर्नुपर्छ ।

– अत्यावश्यक र तत्काल कारबाही आवश्यक पर्ने मामिलाका लागि निगरानी संयन्त्र स्थापना गरिने छ । उक्त संयन्त्रमा रक्षा, विदेश, गृह, कानुन, प्रविधि र महिला तथा बाल विकास मन्त्रालयका प्रतिनिधिहरू रहने बताइएको छ ।

– डिजिटल मिडियाका समाचार प्रकाशकहरुले भारतीय प्रेस काउन्सिलको पत्रकारिता आचरसंहिताको नियम र केबल टेलिभिजन नेटवर्क नियमन ऐन अन्तर्गत कार्यक्रमसंहिता पालन गर्न आवश्यक हुनेछ । – डिएनए इण्डिया