२० मंसिर २०७९, मंगलबार

पूर्वी नवलपरासी २ मा एमालेको किल्ला भत्कियो, कांग्रेसका कार्की विजयी

लेखाजोखा न्यूज

८ मंसिर २०७९, बिहिबार ९:३०

नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा २ बाट फराकिलो मतान्तरसहित कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् ।

एमाले उम्मेदवार तिलबहादुर महत क्षेत्री (तिलक)लाई दुई हजार २१ मतले पछि पार्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार एक सय ४ मत पाउँदा महतले ३४ हजार ८३ मत प्राप्त गरे ।

कार्की ०७४ को निर्वाचनमा क्षेत्रीसँग एक हजार तीन सय मतले पराजित भएका थिए । पाँच वर्षपछि उनले हारको पीडा भुलाएका छन् ।रुपन्देहीबाट बसाइ सरेर आएको ११ वर्षमै उनी संसद बन्न सफल भएका छन् । व्यवसायीसमेत रहेका कार्कीको क्रसर र इँट्टा उद्योगमा लगानी छ ।

०४८ यता भएका सबै निर्वाचनमा यो क्षेत्रमा एमाले विजयी हुँदै आएको थियो । कार्कीले एमालेको किल्ला तोडेका हुन् ।

नवलपरासीका दुवै क्षेत्रबाट यसपटक कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर १ बाट कांग्रेस नेता डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् ।

त्यसैगरी, चार प्रदेश सभामध्ये तीन वटामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ । यहाँ प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार रहेका कांग्रेसका सबै तीन उम्मेदवार विजयी हुँदा गठबन्धनमै रहेको माओवादीका दुई र एकीकृत समाजवादीका एक उम्मेदवार पराजित भएका छन् ।

नवलपुर १ (१) बाट कांग्रेसका महेन्द्रध्वज जिसी, नवलपुर १ (२) बाट एमालेका रोशनबहादुर गाहा, नवलपुर २ (१) बाट एमालेकी पद्मा जिसी श्रेष्ठ र नवलपुर २ (२) बाट एमालेका लक्ष्मण पाण्डे विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend