कोरोनाबाट मृत्यु हुने ६१९ थपिए, कसरी बढ्यो एकैदिन मृतकको संख्या ?

लेखाजोखा न्युज
१२ फाल्गुन २०७७, बुधबार १८:४३

काठमाडौं । नेपालमा बुधबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ६१९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबारको अध्यावधिक विवरण अनुसार ६१९ मृतक थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मन्त्रालय र शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको तथ्यांक मिलाउँदा ६१९ जना कोरोना संक्रमितको तथ्यांक थप भएको पाइएको बताएका छन् ।

उनले भने, “मृतकको संख्या यकिन गर्न सीसीएमसीलाई जिम्मा दिइएकामा बुधबार अन्तिम तथ्यांक आइपुगेको हो । योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ ।”

यसअघि सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएका कारण सेनाले शवहरुको तथ्यांक राख्दै आएको थियो । मन्त्रालयले भने आइसोलेसनमा मृत्यु भएकाहरुको तथ्यांक राख्दै आएको थियो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रले कोरोनाबाट कुल मृत्यु भएकाहरुको तथ्यांक संकलन तथा अध्ययनको काम गरिरहेको र बुधबार उक्त काम सकिएपछि कुल मृतकको संख्या सार्वजनिक गरिएको डा. गौतमले जानकारी दिएका छन् ।

सरकारले एकैदिन ६१९ जना मृतकको तथ्यांक सार्वजनिक गर्दा यसअघि तथ्यांक लुकाएको आरोपसमेत लागेको छ । नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ ।

त्यसैगरि देशभर हालसम्म दुई लाख ७३ हजार ७६० जनामा कोरोना संक्रमण भएकोमा ९३७ सक्रिय संक्रमित रहेका छन् । बुधबार ९४ जना नयाँ संक्रमित थपिएका हुन् ।