पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

लेखाजोखा न्युज
१३ फाल्गुन २०७७, बिहीबार ०६:३०

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर संसद्मा पार्टीले निभाउनुपर्ने भूमिकाबारेमा छलफल गर्न कांग्रेसले आज (बिहीबार) पदाधिकारी बैठक बोलाएको हो ।

सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्ने बूढानीलकण्ठले जनाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बस्ने जानकारी दिएका छन् ।

यसअघि बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आगामी दिनमा सहकार्य गरेर जान प्रस्ताव गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभापति देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए ।

जवाफमा सभापति देउवाले पार्टीमा छलफल गरेर सहकार्यका बारेमा निर्णय गरिने बताएका थिए । उनले बुधबार नै आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

महेन्द्र नारायण निधिको ९९ औ जन्मजयन्तीका अवसरमा बुधबार बत्तिसपुतलीमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भ’ विषयक अन्तरक्रियामा सभापति देउवाले संसदीय दलको बैठकमा छलफल गरेर अगाडि जाने बताएका हुन् ।

“नेपाली कांग्रेसले के गर्छ भन्ने कुराभन्दा पनि नेपाली कांग्रेसलाई सबैले सहयोग गर्नुपर्छ । हामी संसदीय दलको बैठक बोलाएर छलफल गरेर अगाडि जाने छौं,” उनले भनेका थिए ।