प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीले गरेका निर्णयहरु के-के हुन् ?

लेखाजोखा न्युज
१२ फाल्गुन २०७७, बुधबार १७:५५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल स्थायी कमिटी सम्पन्‍न भएको छ । सर्वोच्च अदालतले मंगलबार संसद् पुनर्स्थापनाको फैसला सुनाएपछि बुधबार बसेको नेकपा प्रचण्ड-नेपाल समूहको बैठकले निर्णय ‘ऐतिहासिक’ भएको बताएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्‍न बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित मात्रै गरेको छैन कि संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ ।”

“र, यसले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्यूहमा राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्‍याएको छ ।”

उनका अनुसार बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान पनि गरेको छ ।

त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द गर्ने निर्णयसमेत गरेको छ । आफूहरू गरेको आन्दोलनमा सहयोग गरेकोमा र सहभागिता जनाएकोमा सो समूहको बैठकले सम्बन्धित सबैमा आभार प्रकट गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि त्यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकता रहेको प्रति पार्टी सजग भएको जनाइएको छ ।

नयाँ सरकार गठनको विषयमा बैठकमा छलफल भए वा नभएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आफूहरूले भनिसकेको उल्लेख गर्दै संसद्‌ अधिवेशनपछि आवश्यक कदम चालिने बताए ।

अब बस्‍ने प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरू प्रक्रिया अगाडि बढ्ने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् ।

फाइल तस्बिर ।