शम्भु थापाले भने – ओलीले तत्काल राजीनामा दिनुपर्छ, नेकपाभित्रैबाट सरकार बन्‍छ

लेखाजोखा न्युज
१२ फाल्गुन २०७७, बुधबार १७:२१

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दयनीय भएकोसमेत बताएका छन् ।

उनले भने, “मुलुकले अब राजनीतिक निकास पनि पाउँछ । जस्तो आज संसदीय दलको बैठक बस्दैछ । नयाँ परिवेशमा संसदीय दलले आफ्नो नेता छनौट गर्छ । छनोट गरेर संसदमा पठाउँछ । संसदीय दलसँग ह्विप लगाउने अधिकार छ । वर्तमान प्रधानमन्त्रीले पार्टी फुटाएर लैजानु भयो भने अर्को अवस्था आउँदछ । यदि दल फुटेन भने नेकपा नेकपा नै हुन्छ । नेकपाभित्रैबाट सरकार बन्‍ने अवस्था मैले देखेको छु । फूट्यो भने दुई वा दुईभन्दा बढि दल, राष्ट्रिय अनुकुलको दुई वर्ष सरकार चलाउनुपर्छ भन्नुभएको छ । उहाँहरुमाथि ठूलो जिम्मेवारी छ । अदालतले के भन्यो भने संविधानको त मैले व्याख्या गरिदिएँ । अब स्थायित्व दिनुपर्छ ।”

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले सर्वोच्च अदालतले संसद र संविधान मार्न सक्दैनौं है भन्‍ने सन्देश दिएको बताएका छन् ।

उनले भने, “असिमित अधिकार त संविधानवादमा मात्रै छ । कार्यकारिणी कार्यपालिकाको अधिकार शासन गर्ने यहीँ छ । तपाईँले संसदलाई मार्न सक्नुहुन्न । खान सक्नुहुन्न भनेर सर्वोच्च अदालतले प्रष्ट रुपमा भनेको छ । हामीले संवैधानिक सोचअनुसार बहस गरेका हौं । जे संविधान देखें त्यसमा हामीले तर्क-वितर्क गर्यौं । अदालतको फैसला आएको छ, त्यो फैसलाले राजनीतिक वातावरण हल भइसकेको छ । अबको जवाफदेहिता सांसदहरुमाथि जान्छ । उहाँहरुको परिपक्वतामाथि जान्छ । नेताहरुको परिपक्वतामाथि जान्छ ।”

वरिष्ठ अधिवक्ता थापाले अब मुलुकमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिए । उनले भने, “नागरिक समाजले आवाज उठाइराखेको छ, अब त्यो आवाजलाई सम्बोधन गर्छ कि गर्दैन् ? सम्बोधन गरिएन भने नागरिक समाज चुप लागेर बस्दैन् । नेपाली जनतालाई सुशासन दिनुपर्छ । सुशासनको प्रत्याभुति दिने मानिसहरु लिएर जानुपर्छ ।”