प्रधानमन्त्री ओलीले तोकिएको समयमा चुनाव नगराए कुर्सीबाट गलहत्याइन्छ : एनपी साउद

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १६:०८

धनगढी । नेपाली कांग्रेसका नेता एनपी साउदले निर्धारित मितिमा निर्वाचन नभए आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचनका लागि बाध्य पारिने बताएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकामा पर्ने बढैपुरमा मंगलबार पार्टीको क्षेत्र नम्बर ४ प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिले आयोजना गरेकोआयोजित ‘बृहत् कार्यकर्ता भेटघाट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“केपी ओलीले यदि निर्वाचन गर्ने होइनन् भने हामी जसरी संसद् विघटनलाई असंवैधानिक र अप्रजातान्त्रिक हो भनेर आन्दोलन चलाइराखेका छौं त्यो आन्दोलनलाई पनि गत्तव्यमा पुर्‍याउन कांग्रेस तयार छ,” नेता साउदले भने ।

उनले संविधानले प्रतिनिधि सभा विघटन भएको छ महिनाभित्रै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले निर्वाचन नगराए कुर्सीबाट गलहत्याउनेसमेत दाबी गरे ।

“संसद् विघटनको छ महिनाभित्र चुनाव गरेनन् भने त्यसको एक दिन पनि नेपाली कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा रहने दिने छैन,” नेता साउदले भने, “ हामी त्यो कुर्सीबाट नेकपालाई गलहत्याउने छौं यो वचनवद्धता सबैका अगाडि हामी गनृ चाहन्छौं ।”

ओली नेतृत्वको तीन वर्षसम्म कुम्भकर्णको निद्रामा सुतेको टिप्पणी गर्दै उनले पछिल्लो समय झुठा आश्वासन दिएर सुकुम्वासी, मुक्तकमैया, गरिब जनतालाई आफूतिर आकर्षित गर्न लागेको आरोप लगाए ।

सरकारले सुकुम्वासी, मुक्तकमैया, गरिब जनतालाई जग्गा दिने झुठो आश्वासन दिएर आमसभाहरुमा बोलाएर प्रयोग गरिरहेको नेता साउदको दाबी थियो । “यिनको जग्गा बाँड्ने अभियान आमसभामा मान्छे जुटाउनेभन्दा अरु उदेश्यका लागि छैन,” उनले भने ।