प्रचण्डसँग मिलेर गरिने आन्दोलन ‘मुतको न्यानो’ मात्रै : कांग्रेस नेता महर

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १५:३३

धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रतिनिधि सभा विघटनविरुद्ध कम्युनिस्टसँग मिलेर गरिने भनिएको आन्दोलनलाई ‘मुतको न्यायो’ को संज्ञा दिएका छन् ।

कैलालीको बढैपुरमा मंगलबार क्षेत्र नम्बर ४ प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको ‘बृहत् कार्यकर्ता भेटघाट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध कम्युनिस्टसँग मिलेर गरिने भनिएको आन्दोलनलाई ‘मुतको न्यायो’ को संज्ञा दिएका हुन् ।

“आज हामीलाई भन्दै छन् – प्रचण्डसँग सडकमा जानु पर्दैन कांग्रेसले ? हामीलाई थाहा छ, के को न्यानो भन्छन् । तर, त्यो न्यानो पछि चिसो हुन्छ,” नेता महरले भने, “हामीलाई थाहा छ अहिले उग्र कुरा गर्‍यौँ भने, प्रचण्डलाई सँगै लगाएर हामी आन्दोलनमा गयौँ भने हाम्रो हाइहाइ हुन सक्छ एकछिन ।”

उनले दुबै कम्युनिस्टसँगै मधेसवादी दलहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा सडक आन्दोलनमा रहेका बेला जनताले कांग्रेसका प्रति औंला नठड्याउन भनेर आफ्‍नो आन्दोलनलाई उग्र हुन नदिएको पनि बताए ।

“राजतन्त्रको अवसानपछि नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी । संस्थापन पार्टी हो । यसका केही जिम्मेवारी छन्,” नेता महरले भने, “केपी ओली पनि सडकमा, प्रचण्ड पनि सडकमा, मधेसवादी पनि सडकमा, देशको जिम्मा कोले लिने ? को हो यसको घरमुली भन्दा मान्छेले कांग्रेसतिर औंला ठड्याउने भएका कारणले हामीले यो आन्दोलनलाई उग्र हुन दिएका छैनौं ।”

महरले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसला आउने र फैसालाका आधारमा कांग्रेसले आगामी रणनीति तय गर्ने पनि बताए ।

उनले चुनावको समयमा कम्युनिस्ट पार्टीले तयार गरेका घोषणापत्रमा उल्लेख गरेकामध्ये दुई प्रतिशत काम पनि सम्पन्‍न गरेको देखिए आफूहरु राजनीतिक जीवन त्याग्न पनि तयार रहेको जिकिर गरे । “यो सरकारले जनताले शासनका लागि दिएको पाँच वर्षको म्याण्डेडको ६० प्रतिशत समय गुजारेको छ । तर चुनावी घोषणा पत्रमा गरेको प्रतिवद्धता दुई प्रतिशत पनि पूरा भएको छ भने हाम राजनीतिक जीवन परित्याग गर्न सक्छौं ।”

फाइल तस्बिर ।