चर्को तनावका बीच पनि भारतको शीर्ष व्यापार साझेदार बन्‍यो चीन

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १४:३३

नयाँ दिल्ली । चर्को तनाव र दबाबका बीच पनि चीन भारतको शीर्ष व्यापार साझेदार मुलुक बनेको छ । सन् २०२० मा भारत र चीनबीच चर्को तनाव सिर्जना भएको थियो ।

सन् २०२०, जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवान भ्यालीमा भएको हिंसात्मक झडप भएको थियो । उक्त झडपमा २० भारतीय र चार चिनियाँ सेनाको मृत्यु भएको बताइएको छ । जुन १५ को झडपपछि भारतले २२० चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

यी सबै विवाद र हिंसाका बीच पनि चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बन्‍न सफल भएको छ । विश्‍व शक्तिको होडमा रहेका दुई एसियाली मुलुकबी सन् २०२० मा ७७.७ बिलियन डलर बराबरको व्यापार भएको छ । यद्पि यो तथ्यांक सन् २०१९ को तुलनामा भने कम हो । सन् २०१९ मा दुई मुलुकबीच ८५.५ बिलियन डलर बराबरको व्यापार भएको थियो ।

कोरोना महामारीका कारण विश्‍वव्यापी व्यापारमा संकुचन आएको समयमा भारत र चीनबीच भएको व्यापार ‘पर्याप्त’ भएको भारतको वाणिज्य मन्त्रलायले जनाएको छ ।

सन् २०१० मा चीनबाट ठूलो परिमाणमा स्वास्थ्य उपकरणहरुको व्यापार भएको थियो । भारतले चीनबाट आयात कम गर्ने र आत्मनिर्भर बन्‍ने रणनीति अपनाएको छ । भारतमा यसअघि चिनियाँ उत्पादन बहिष्कार गर्ने अभियानसमेत चलेको थियो ।

यद्पि भारत महत्वपूर्ण मेसिनरी र टेलिकम उपकरण र घरेलु आवश्यकताका सामग्रीहरुमा भने चीन नै निर्भर रहेको छ । भारतले अमेरिका र संयुक्त अरब इमिरेट्सबाट गरेको आयात बराबर नै चीनबाट आयात गरेको देखिएको छ । – बीबीसी