प्रचण्डले भने – ५ पुसदेखि नै हामी युद्धमा छौं, सर्वोच्चले सही फैसला गर्छ

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १४:१०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन भएको ५ पुस गतेदेखि नै आफूहरु युद्धमा होमिएको बताएका छन् ।

मंगलबार काठमाडौँमा तिलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सर्वोच्चले सही फैसला गर्नेसमेत विश्वास व्यक्त गरेका छन् ।

उनले आफूले अदालतप्रति विश्वास नभएको अभिव्यक्ति नदिएकोसमेत स्पष्ट पारे । उनले भने, “अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेको छैन । मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ ।”

संसद् विघटनपछि नै आफूहरुले युद्धमा रहेको उल्लेख गर्दै उनले भने, “५ पुसदेखि नै हामीहरु नयाँ प्रकारको युद्धमा छौं । रक्तपातविहीन युद्ध । हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ । अहिलेको युद्ध हामीले जित्‍नु छ ।”

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा औलीले मुद्दा हारिसकेको बताएका छन् । पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेकोसमेत बताए ।

उनले भने, “एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्‍नुपर्छ ।”

फाइल तस्बिर ।