सुरक्षा परिषद्पछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १३:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्‌को बैठक सकेलगत्तै मंगलबार नै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

यसअघि मंगलबार बिहान बसेको सुरक्षा परिषद्को बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ । संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसाला सुनाउने तयारी गरिरहेका बेला बोलाइएको सुरक्षा परिषद्को आकस्मिक बैठक र लगत्तै राखिएको मन्‍त्रिपरिषदलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा र वार्ता सम्बन्धमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । यसअघि शनिबार एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए । विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन् ।

सरकारले विप्लवको यो कदमलाई सकारात्मक भनेको छ । सरकारले ०७५ फागुन २८ गते विप्लवका गतिविधि हिंसात्मक देखिएको भन्दै उनी नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसयता दुवै पक्षले एकअर्कालाई गलाउने गर्दै वार्तामा ल्याउन अनेक अनौपचारिक प्रयास जारी राख्दै आएका थिए ।