बसोबासको माग गर्दै रात्रिकालिन धर्ना बसेका वादी समुदाय भन्छन् – शरीर बेच्‍नुपर्ने स्थिति आयो साना बालबालिका र वृद्धवृद्धाहरुसहित धर्ना रहेका वादी समुदायलाई जीविका नै धान्‍न समस्या भएपछि दैलेखबाट हिँडेर प्रदेश राजधानी पुगेका हुन्

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १२:४१

सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि वादी समुदाय धर्ना बसेका छन् । सोमबार बेलुकी ७ बजेतिर वीरेन्द्रनगर पुगेका उनीहरु अहिले मुख्यमन्त्री कार्यालय अगाडिको खुल्लाचौरमा धर्ना बसेका हुन् । दुई सयको संख्यामा रहेका उनीहरु दैलेखबाट पैदल यात्रा गरेर सुर्खेत आइपुगेका हुन् ।

आइतबार बिहान ७ बजे हिँडेर सोमबार बेलुकी ७ बजे मात्र वीरेन्द्रनगर पुगेको दुल्लू नगरपालिका–१ का हिक्मत वादीले जानकारी दिए । उनले भने, “हाम्रो बस्ने जमीन छैन । भारी बोक्दै, माछा मार्दै जीविका चलाएका थियौँ । बालुवा निकाल्न प्रतिबन्ध लगाइयो जीविका चलाउन गाह्रो भइरहेको छ । कोरोनाले शीथिल पारेका हामीले शरीर नै बेच्नुपर्ने अवस्था आएपछि हामी यहाँ (प्रदेश सरकारको शरणमा) आईपुगेका हौँ ।”

उनीहरुले प्रदेश सरकारसँग खेतिपाती गर्ने जमिन र सुरक्षित आवासको माग गरेका छन् । उनीहरुको साथमा साना बालबालिका सँगै वृद्धवृद्धाहरु समेत रहेका छन् । साँझको समयमा मुख्यमन्त्री कार्यालय अगाडि बसेका उनीहरुलाई तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले मंगलबारको खान खुवाउने व्यवस्थापन गरेका छन् ।

मंगलबार लागि बसाइ व्यवस्थापन गर्न खोजिए पनि उनिहरूले मानेका छैनन् । उनिहरूलाई रंगशालास्थित कभर्ड हलमा राख्‍न खोजिएको छ । “हामी आजसम्म चिसोमै दिन बितायौँ, एक रात हाम्रो लागि केही होइन, हामी जाँदैनौँ,” हिम्कत वादीले भने, “जबसम्म हाम्रो माग पूरा हुँदैन, हामी मुख्यमन्त्रीकै कार्यालय अगाडि धर्ना बस्छौँ ।”

झण्डै ६६९ जना रहेको दैलेखमा वादी समुदायका ४०२ परिवार र १ सय १२ घरधुरी संख्या छ । वादी समुदायका माग सम्बोधनका विषयमा बुझ्‍न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आउन सकेका छैनन् ।