गंगाजमुना गाउँपालिकामा लगाइएको ताला अझै खुलेन

गोमा थापा
११ फाल्गुन २०७७, मंगलवार ११:१०

धादिङ । गंगाजमुना गाउँपालिका कार्यालयमा लगाइएको ताला अझै खुल्न सकेको छैन ।

गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि र भेटनरी शाखाहरुमा अनियमितता भएको भन्दै स्थानीयले ताला लगाएका हुन् । हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीयले बुधबारबाट पालिकामा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकामा चरम भ्रष्टाचार भएको विषयलाई लिएर स्थानीयले आवाज उठाउन थालेपछि कर्मचारीहरु कार्यालय नै छाडेर हिँडेको बताइन्छ । गाउँपालिका कर्मचारीविहीन भएपछि स्थानीय झन् आक्रोशित भएका छन् ।

तर गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी भने पालिकामा अनियमितता भएको स्वीकार गर्दैनन् । हरेक वर्ष सम्पूर्ण योजनाहरुका बारेमा सार्वजनिक सुनुवाइ गर्दै आएको र पालिकामा कुनै भ्रष्टाचार नभएको अध्यक्ष अधिकारीको दाबी छ।

फागुन ४ गते धादिङको गंगा जमुना गाउँपालिकामा कार्यरत इञ्‍जिनियरर पूजा कार्कीलाई अख्तियारबाट खटिएको विशेष टोलीले ९५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने माग गर्दै गाउँपालिकामा तालाबन्दी गर्न आफूहरू बाध्य भएको स्थानीय शम्भु सिम्खडाले बताएका छन् ।