सुदूरपश्‍चिममा साढे २३ हजारले लगाए कोरोनाविरुद्धको खोप

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १०:५७

धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै साढे २३ हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

सुदूरपश्‍चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार प्रदेशभर हालसम्म २३ हजार चार सय १७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार एक सय ९५ जना पुरुष र चार हजार दुई सय ७ जना महिलाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार सात सय १० जनाले खोप लगाएका छन् । कञ्‍चनपुरमा ३ हजार पाँच सय ३८, डोटी तीन हजार १६ जना, बैतडी एक हजार आठ सय ४५ जना, बझाङमा एक हजार सात सय ७७ जनालाई खोप लगाइएको छ ।

यस्तै, अछाममा एक हजार सात सय ९३, दार्चुलामा एक हजार सात सय ४६, डडेल्धुरामा एक हजार ६ सय र बाजुरामा एक हजार तीन सय ८९ जनाले खोप लगाएका छन् ।

पहिलो चरणको अभियानअन्तर्गत प्रदेशभर २६ हजार सात सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सांकेतिक तस्बिर ।