ट्रम्पको करसम्बन्धी अनुसन्धानका लागि कागजात बुझाउन रोक नलगाइने सर्वोच्चको आदेश

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार २२:४६

वाशिङ्टन । अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको करसम्बन्धी अनुसन्धानका लागि कागजात उपलब्ध गराउन रोक नलगाइने आदेश गरेको छ । यसअघि तत्कालीन राष्ट्रपति ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका थिए ।

सर्वोच्चको यस फैसलाले आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्‍ने ट्रम्पको अन्तिम प्रयास पनि असफल भएको हो ।

उक्त मुद्दाको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कागजात बुझाउन रोक नलगाइने फैसला सुनाएको हो । न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनस्थित उच्च अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।

उक्त आदेश उल्ट्याउन माग गर्दै ट्रम्प सर्वोच्च पुगेका थिए । सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेन । अभियोजनकर्ताहरुको अनुसन्धानका क्रममा करसम्बन्धी उक्त कागजातहरु सार्वजनिक गरिएका थिएनन् ।

ट्रम्पले भने यसलाई इतिहासकै सबैभन्दा ठूलो ‘विच हन्ट’ को नियमितता भएको र ‘फसाउने खेल’ भएको आरोप लगाएका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन् । आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका एक मात्रै अमेरिकी राष्ट्रपति हुन् ।

सन् २०१९ नोभेम्बरमा न्यूयोर्कको एउटा अदालतले अभियोजकहरूले ट्रम्पको लेखा हेर्ने फर्मबाट उनको व्यक्तिगत र व्यापारिक दुवै सूचना माग गर्न कानुनी सूचना जारी गर्नसक्ने उल्लेख गरेको थियो ।

उक्त फौजदारी अनुसन्धान ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई त्यसलाई गोप्य राख्‍न दिएका रकमको विषय जोडिएको बताइएको थियो । ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका थिए । – एपी