न्युयोर्कका स्थानीयमा पनि दक्षिण अफ्रिकी कोरोना भेरियन्टको संक्रमण अत्यधिक संक्रामक हुनुका साथै एस्ट्राजेनेकाले विकास गरेको खोप यस भेरियन्टविरुद्ध कम प्रभावकारी

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार ०७:००

न्युयोर्क । तीव्ररुपमा संक्रमण फैलिने भनिएको दक्षिण अफ्रिकी कोरोना भाइरस न्युयोर्कका स्थानीयमासमेत देखिएको छ । न्युयोर्कका गर्भनर एन्ड्रियु कुमोले दक्षिण अफ्रीकी कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको बताएका हुन् ।

कुमोले राज्यको नासाउ काउन्टीका एकजनामा कोरोना भाइरसको दक्षिण अफ्रिकी भेरियन्ट ओपनट्रोन्स ल्याबवर्क्स इन्कको प्यान्डेमिक रेस्पोन्स ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको बताएका हुन् ।

पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको यो भेरियन्ट अमेरिकामा पहिलो पटक गत महिना देखिएको थियो ।

कोरोना महामारीको संक्रमण नोभेम्बर ३ पछि पहिलो पटक तीन प्रतिशतले घटेको समयमा दक्षिण अफ्रिकी भेरियन्ट फेला परेको हो । न्युयोर्कमा पछिल्लो समय कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि कमी आइरहेको थियो ।

गभर्नर कुमोले भने, “तर, अहिले नयाँ भेरियन्ट फेला परेसँगै स्थानीयहरुले पहिलोभन्दा निकै चनाखो भएर अनिवार्य मास्क लगाउने र सामाजिक दूरीको मापदण्ड पालना गर्नुपर्ने भएको छ ।”

अहिले पहिलो पटक देखिएको कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भइरहेको र नयाँ भेरियन्ट फेला पर्न थालेको स्थितिमा आफूहरु रहेकोले अनुशासन र तोकिएका मापदण्ड पालना गरेमात्रै कोरोनाविरुद्धको युद्ध जित्‍न सकिने उनले बताएका छन् ।

नयाँ भेरियन्ट पहिलो पटक सन् २०२० को डिसेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो । हाल दक्षिण अफ्रिकामा कोरोना संक्रमितमध्ये ९० प्रतिशतमा बी.१.३५१ अथवा ५०१वाई.भी२ कोरोना संक्रमण भएको पाइने गरेको जनाइएको छ ।

यो प्रजातिको कोरोना निकै संक्रामक रहेको र अन्यभन्दा खोप काम नगर्ने पाइएकोसमेत बताइएको छ । यसअघि गरिएको अध्ययन अनुसार एस्ट्राजेनेका र अक्सफोर्ड विकास गरेको खोप कम प्रभावकारी भएको पाइएको हो । – अलजजिरा