जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाजलाई

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार १९:१२

धादिङ । धादिङमा सन्पन्न जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङ नीलकण्ठले हात पारेको छ ।

बेनिघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा त्रिपुरासुन्दरी क्रिकेट क्लवलाई नौ विकेटले पराजित गर्दै धादिङ समाजले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले जनही ५–५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट उत्कृष्ट १५ मा छनोट भएका खेलाडीले चितवन क्यानसँगको समन्वयमा चितवनसँग गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेल्न बताइएको छ ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको आयोजनामा चन्द्रोदय मावि विशालटारको खेल मैदानमा फागुन ७ गतेदेखि खेल सुरु भएको आयोजक संस्थाका नारायण सिलवालले जानकारी दिएका छन् ।