आहा रारा गोल्डकपलाई कथा नेपालको साथ

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार १६:४१

काठमाडौं । आहा रारा गोल्डकपलाई कथा नेपाल प्रालिको साथ रहने भएको छ । पोखरामा आयोजना हुन लागेको १९ औँ संस्करणको आहा रारा गोल्डकपलाई कथा नेपालले प्रत्यक्ष प्रसारणका लागि प्रायोजन गरेको हो ।

सोमबार कथा नेपालका प्रबन्ध निर्देशक मनोजराज पाण्डे र साहारा एकेडेमीका अध्यक्ष केशव बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यस सम्झौतासँगै गोल्डकपको सम्पुर्ण आडियो भिडियो प्रसारणको अधिकार कथा नेपालसँग रहनेछ ।

सम्झौता अनुसार अडियो भिडियोका लागि कथा नेपालले गोल्डकप आयोजकलाई पाँच लाख रुपैयाँ दिने छ । १९ औँं संस्करणको आहा रारा गोल्डकप पोखरा रंगशालामा चैत्र १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

यस प्रतियोगितामा विदेशी टिमसहित’ ए ‘ डिभिजन लिगका क्लब, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछ। गत वर्ष यस गोल्डकपमा मनाङ्ग माङ्गदी क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता रहेको थियो।